×

वीरगञ्ज । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि सुरु गरेको आन्दोलन वार्तापछि स्थगित भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलनरत कर्मचारीबीच भएको छलफलपछि सहमति जुटेसँगै कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरका नियमित सेवा पुनः सञ्चालनमा आएका छन्।

स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको बाँकी तलब तत्काल भुक्तानी गर्न माग गर्दै महानगरको दैनिक प्रशासनिक कामकाज प्रभावित बनाएका थिए।

वार्तापछि हालका लागि जेठ महिनाको तलब तत्काल भुक्तानी गर्ने सहमति भएको जनाइएको छ। उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्मचारी पक्षले जनाएको छ।

कार्यवाहक प्रमुख आलमले कर्मचारीका मागप्रति महानगर सकारात्मक रहेको बताउँदै समस्याको समाधान संवादबाट खोजिएको बताए। उनले आन्दोलनका कारण सर्वसाधारणलाई सेवा प्रवाहमा समस्या नहोस् भन्ने उद्देश्यले सम्बन्धित पक्षसँग तत्काल छलफल गरी सहमति गरिएको उल्लेख गरे।

महानगरपालिकाका अनुसार केही समयदेखि आन्तरिक आर्थिक व्यवस्थापनका चुनौतीका कारण कर्मचारीको तलब भुक्तानी प्रभावित भएको थियो। यसअघि पनि रोकिएको तलब क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यसअघि आर्थिक वर्षको अन्तिम दिन तलब भुक्तानीको माग गर्दै कर्मचारीहरूले लेखा शाखामा तालाबन्दी गरेका थिए। त्यसपछि महानगर नेतृत्व, प्रशासन र कर्मचारीबीच निरन्तर संवाद जारी रहेको थियो।

बिहीबार भएको सहमतिपछि आन्दोलन स्थगित भएसँगै महानगरपालिकाका प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी सम्पूर्ण काम नियमित रूपमा सञ्चालनमा आएको छ।

Back to top