रौतहट । रौतहट प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले तार, युरिया मल तथा मोटरसाइकल बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मोतिपुर–नरकटिया क्षेत्रमा गरिएको नियमित चेकजाँचका क्रममा BR30Q6135 नम्बरको भारतीय मोटरसाइकलमा लोड गरिएको करिब ४९ हजार रुपैयाँ बराबरको उषा पोली वायर (तार) बरामद गरिएको हो। उक्त सामानसँगै करिब ६० हजार रुपैयाँ मूल्यको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी, लक्ष्मीनिया–विजयपुर क्षेत्रमा ना ५५ प ७३३१ र ना ३१ प ४०७३ नम्बरका मोटरसाइकलमा ल्याइँदै गरेको ११ बोरा युरिया मल प्रहरीले फेला पारेको थियो। प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकहरू सामान र सवारीसाधन बाटोमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका भन्सार छलीका सामान तथा मोटरसाइकलको कुल अनुमानित मूल्य १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। फरार भएका व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।