इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीको खराब लयले निरन्तरता दिएको छ।
बिहीबार सम्पन्न चौथो टि-२० अन्तर्राष्ट्रिय खेलमा भारत घरेलु टोलीसँग ९ विकेटले लज्जास्पद रूपमा पराजित भएको छ। यस पराजयसँगै ५ खेलको यस शृङ्खला इंग्ल्यान्डले एक खेल अगावै ३-० ले आफ्नो पोल्टामा पारेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतको सुरुवात खराब रह्यो। सातौँ ओभरमा ४८ रन जोड्दा ३ विकेट गुमाइसकेको भारतका लागि कप्तान श्रेयस अय्यरले इनिङ्स सम्हालेका थिए। अय्यरले ४९ बलमा ४ चौका र ५ छक्काको मद्दतले अविजित ८० रनको उत्कृष्ट योगदान दिएपछि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो।
इंग्ल्यान्डका लागि बलिङतर्फ जोफ्रा आर्चर र जोश टङ्गेले समान २-२ विकेट लिए भने विल ज्याक्स र आदिल रसिदले १-१ विकेट बाँडे।
१५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले मात्र १३.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। इंग्ल्यान्डको जितमा ह्यारी ब्रुक्स र फिल साल्टले आक्रामक अर्धशतकीय इनिङ्स खेले।
ब्रुक्सले अविजित ७९ रन र साल्टले अविजित ५९ रन बनाएपछि भारतका बलरहरू निरिह साबित भए। भारतका लागि एकमात्र विकेट अर्शदीप सिंह (१/२६) ले लिए।