×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा पत्रकारहरूलाई लक्षित गर्दै गालीगलौज तथा अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेका कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले कानुनी कारबाहीको माग गरेको छ।

महासंघ पर्साले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी राज्यमा पत्रकार तथा सञ्चारकर्मीमाथि लक्षित यस्ता उच्छृङ्खल र अमर्यादित अभिव्यक्ति स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ।

यसै सन्दर्भमा महासंघको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई भेटी मिश्रविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन बुझाएको जनाएको छ।

उजुरी परेपछि आदर्श मिश्रले केही पत्रकारहरूसँग सम्पर्क गरी आफ्नो व्यवहारप्रति क्षमायाचना गर्न थालेको स्रोतले जनाएको छ। बाराका एक पत्रकारका अनुसार मिश्रले आफूले मदिरा सेवन गरेको अवस्थामा आवेगमा आएर अनुचित शब्द प्रयोग भएको भन्दै गल्ती स्वीकार गरेका छन्।

ती पत्रकारका अनुसार मिश्रले आफूबाट भएको व्यवहारप्रति क्षमा माग्दै भविष्यमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। साथै, कारबाहीको सम्भावित प्रक्रियाप्रति चिन्तित हुँदै उनले केही पत्रकारहरूसँग सम्पर्क गरी आफ्नो पक्ष राख्ने प्रयास गरिरहेको पनि ती पत्रकारले बताएका छन्।

यद्यपि, आदर्श मिश्रले सार्वजनिक रूपमा औपचारिक धारणा वा लिखित स्पष्टीकरण भने जारी गरेका छैनन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले उजुरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

Back to top