वीरगञ्ज/रक्सौल । भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको रक्सौलमा बालविवाहको आवरणमा मानव तस्करी गर्ने प्रयासलाई सुरक्षाकर्मी र सामाजिक संस्थाको संयुक्त टोलीले असफल बनाएको छ। घटनामा १४ वर्षीया एक नाबालिग बालिकाको उद्धार गरिएको छ भने राजस्थानका एक दुलाहासहित चार जनालाई पक्राउ गरिएको छ।
घटना बिहीबार (जुलाई ९, २०२६) भएको हो। प्राप्त गोप्य सूचनाका आधारमा प्रयास जुभेनाइल एन्ड सेन्टर को पहलमा हरैया प्रहरी, मानव तस्करी नियन्त्रण इकाई, सशस्त्र सीमा बल (एसएसबी) ४७औँ वाहिनी, स्वच्छ रक्सौल संस्था तथा न्याय नेटवर्क परियोजनाको संयुक्त टोलीले छापा मारेर मानव तस्करीको प्रयास विफल पारेको हो।
संयुक्त टोलीले छापामारीका क्रममा विवाहको सम्पूर्ण तयारी भइसकेको र मण्डपसमेत तयार अवस्थामा रहेको फेला पारेको थियो। उद्धार गरिएकी १४ वर्षीया बालिकाले परामर्शका क्रममा आफूलाई परिवारले जबरजस्ती विवाह गराउन लागेको बताएकी थिइन्। उनले राजस्थानबाट आएका केही व्यक्ति चार दिनदेखि रक्सौलस्थित एक निजी होटलमा बसेको, आफ्नी सौतेनी आमालाई नगद रकम दिएको तथा घरायसी सामान र गहनाको प्रलोभन देखाइएको जानकारी दिएकी थिइन्।
सूचनापछि रक्सौलका अञ्चलाधिकारीको निर्देशनमा हरैया प्रहरी, रक्सौल प्रहरी, एसएसबी र प्रयास जुभेनाइल एन्ड सेन्टरको टोलीले उक्त होटलमा छापा मारेर कोठा नम्बर २०९ बाट चार जनालाई नियन्त्रणमा लिएको थियो।
प्रहरीको अनुसन्धानमा उद्धार गरिएकी बालिकाको उमेर १४ वर्ष रहेको पुष्टि भएको छ भने विवाह गर्न आएका व्यक्तिको उमेर ३५ वर्ष रहेको खुलेको छ। पक्राउ परेका चारै जना राजस्थानका बासिन्दा तथा आपसमा साथी रहेको जनाइएको छ। विवाह गर्न आएका व्यक्तिले बालिकाको नाम तथा उनका अभिभावकको नामसमेत भन्न नसकेपछि घटनाप्रति थप शंका उत्पन्न भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जनाले सम्पूर्ण विवाहको व्यवस्थापन गरिरहेको समेत खुलेको छ। त्यसपछि कानुनी प्रक्रिया पूरा गर्दै बालिकालाई संरक्षणमा राखिएको छ।
घटनापछि चारै जनाविरुद्ध बालविवाह निषेध ऐन–२००६ तथा मानव तस्करीसम्बन्धी कानुन अन्तर्गत हरैया प्रहरीमा मुद्दा दर्ता गरिएको छ।
प्रहरी तथा अनुसन्धानमा संलग्न निकायका अनुसार दुलाहाको पक्षबाट कुनै पारिवारिक सदस्यको उपस्थिति नहुनु, गरिब परिवारलाई नगद, गहना र अन्य सामानको प्रलोभन दिनु तथा गोप्य रूपमा विवाह गराउने तयारी हुनुजस्ता तथ्यहरूले विवाहको बहानामा मानव तस्करी गर्ने योजनाको आशंका अझ बलियो बनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा बालविवाह र मानव तस्करीविरुद्ध सुरक्षा निकाय तथा सामाजिक संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।