×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेशमान सिंहले सरकारले दृढ इच्छाशक्ति र प्रभावकारी योजना अपनाए वीरगञ्जको प्रदूषित सिर्सिया नदी सफा गर्न असम्भव नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले प्रत्येक वर्ष आउने बाढीले प्रकृतिको सन्देश बोकेर आउने उल्लेख गर्दै यस वर्षको बाढीले सिर्सिया नदीमा वर्षौंदेखि थुप्रिएको फोहोर बगाएको र नदी सफाइको सम्भावना देखाएको बताएका छन्।

उनका अनुसार सिर्सिया नदी प्रदूषित हुनुको मुख्य कारण नदी स्वयं नभई उद्योगबाट निस्कने अप्रशोधित फोहोर, अव्यवस्थित ढल व्यवस्थापन तथा सम्बन्धित निकायको प्रभावकारी अनुगमनको अभाव हो।

सिंहले सिर्सिया नदीको दीर्घकालीन संरक्षणका लागि सरकारले कडा नीतिगत निर्णय लिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले वातावरणीय कानुनको कडाइका साथ कार्यान्वयन गर्न, उद्योगहरूलाई प्रशोधित फोहोर मात्र नदीमा विसर्जन गर्न बाध्य बनाउन तथा प्रदूषण नियन्त्रणमा प्रभावकारी निगरानी संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नदी संरक्षण सरकारको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै उद्योग, स्थानीय तह, सरोकारवाला निकाय तथा आम नागरिकको साझा प्रयासबाट मात्र सिर्सिया नदीलाई स्वच्छ बनाउन सकिने बताए।

सामाजिक सञ्जालमार्फत उनले “सफा सिर्सिया नदी भनेको स्वस्थ वीरगञ्ज, सुरक्षित वातावरण र भावी पुस्ताप्रतिको हाम्रो साझा दायित्व हो,” भन्दै नदी संरक्षण अभियानमा सबै पक्षलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

Back to top