×

वीरगञ्ज । पछिल्ला केही महिनादेखि उपभोक्ताले आधा (हाप) मात्र एलपी ग्यास सिलिण्डर पाउँदै आएको अवस्थाको अन्त्य भएको छ। सरकारले आजदेखि देशभरि नै पूर्ण (फुल) भरिएको एलपी ग्यास सिलिण्डर वितरण सुरु भएको जानकारी दिएको छ।

सरकारका अनुसार ग्यास आपूर्ति तथा वितरण व्यवस्था सहज बनेपछि आजदेखि देशभरिका ग्यास उद्योग तथा विक्रेतामार्फत पूर्ण परिमाणको ग्यास भरिएको सिलिण्डर उपभोक्तालाई उपलब्ध गराउन थालिएको हो।

यसअघि आपूर्ति व्यवस्थापनमा देखिएको समस्याका कारण बजारमा धेरै स्थानमा आधा ग्यास भरिएका सिलिण्डर मात्र वितरण हुँदै आएको थियो। त्यसले उपभोक्तामा व्यापक असन्तुष्टि सिर्जना गरेको थियो।

सम्बन्धित निकायले अबदेखि नियमित रूपमा पूर्ण ग्यास भरिएका सिलिण्डर उपलब्ध गराइने जनाएको छ। साथै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

पूर्ण ग्यास वितरण पुनः सुरु भएसँगै लामो समयदेखि समस्या झेलिरहेका सर्वसाधारण उपभोक्ताले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

Back to top