एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको विकास, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उद्योगको क्षमता अभिवृद्धि र बजार विस्तारका लागि सरकार सकारात्मक रहेको बताएका हुन्।
उनले तीनै तहका सरकारबीच समन्वय गरी जुत्ता निर्माणसम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ताचप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिए। साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चापदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग तथा बजार विस्तारमा विशेष जोड दिइने उनले बताए।
छलफलका क्रममा एफएमएएनका पदाधिकारीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन तथा गुणस्तरहीन र सस्तो जुत्ताचप्पलको आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए।
उनीहरूले आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न, स्वदेशी उद्योग संरक्षणका लागि प्रभावकारी नीति ल्याउन तथा उद्योगमैत्री वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
एसोसिएसनका प्रतिनिधिहरूले आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ताचप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य तथा प्रतिनिधिसभा सदस्य विदुषी राणा लगायतको सहभागिता रहेको थियो।