वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोलाई वीरगञ्जका विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत आपूर्ति तत्काल सुचारु गर्न निर्देशन दिएका छन्।
सांसद पन्तले टेलिफोनमार्फत वितरण केन्द्र प्रमुख महतोलाई सम्पर्क गरी लामो समयदेखि विद्युत अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको भन्दै यथाशीघ्र विद्युत सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका हुन्।
उनले आज रातिसम्म अवरुद्ध विद्युत आपूर्ति पुनः सञ्चालन नभए सम्बन्धित अधिकारीमाथि विभागीय कारबाहीका लागि सिफारिस गर्ने चेतावनीसमेत दिएका छन्।
सांसद पन्तले जनप्रतिनिधिको हैसियतले नागरिकको समस्या समाधान गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै जनतालाई अनावश्यक सास्ती नदिन नेपाल विद्युत प्राधिकरणलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन्। उनले जनताको समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।