वीरगञ्ज । भारतको राजधानी दिल्लीस्थित जन्तर–मन्तरमा विगत २१ दिनदेखि आमरण अनशनमा बसेका शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ ।
प्रहरीको उक्त कदमको विरोध गर्दै प्रदर्शनकारीहरूले अवरोध गरेपछि केही बेर क्षेत्र तनावग्रस्त बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछि प्रहरीले प्रदर्शनकारीहरूलाई हटाएको बताइएको छ ।
वाङचुकलाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको छ । प्रश्नपत्र (पेपर) लिक प्रकरणको निष्पक्ष छानबिन तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी आमरण अनशनमा बसेका थिए ।
लामो समयदेखि खाना नखाएकाले उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको छ । चिकित्सकहरूका अनुसार उनको तौल हालसम्म करिब ९.५ किलोग्राम घटिसकेको छ । शुक्रवार मात्रै २४ घण्टाको अवधिमा ३५० ग्राम तौल घटेर ५६.५५ किलोग्राम पुगेको जनाइएको छ ।
यसअघि बिहीबार दिल्ली उच्च अदालतले केन्द्र सरकार र दिल्ली सरकारलाई वाङचुकको दैनिक स्वास्थ्य परीक्षण सुनिश्चित गर्न तथा आवश्यक परे तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएको थियो । अदालतको आदेशपछि उनको स्वास्थ्य अवस्थाबारे निगरानी बढाइएको थियो ।
वाङचुकसँगै अखिल भारतीय विद्यार्थी सङ्घ (एआईएसए) का नेहा, आमीन र मनीष पनि २१ दिनदेखि आमरण अनशनमा छन् । नेहामा गम्भीर हाइपोग्लाइसेमिया (रगतमा चिनीको मात्रा अत्यधिक घट्ने अवस्था) देखिएकाले चिकित्सकहरूले तुरुन्त अस्पताल भर्ना गर्न सिफारिस गरेका छन् । आमीन र मनीषको स्वास्थ्य अवस्था पनि निरन्तर बिग्रँदै गएको बताइएको छ ।
प्रदर्शनमा सहभागी एक व्यक्तिले बिहान करिब १० जना मानिस मेडिकल टोलीका सदस्यका रूपमा भित्र प्रवेश गरेको तर उनीहरू चिकित्सक नभएको दाबी गरेका छन् । उनका अनुसार ती व्यक्तिहरू सादा पोसाकमा रहेका प्रहरी थिए । ‘उनीहरूले स्वयंसेवकहरूलाई एकातिर हट्न भने । हामीले केही समय पर्खिन आग्रह गर्यौँ, तर अचानक उच्च अदालतको आदेशअनुसार सोनम सरलाई लैजानुपर्ने बताए,’ ती सहभागीले भने ।
उनले अभिजीत नामका अर्का सहभागीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको आशङ्का व्यक्त गरेका छन् । अभिजीत शौचालय गएका बेला उनी सम्पर्कविहीन भएको र घटनास्थलमा फर्किन नसकेको बताइएको छ ।
घटनापछि जन्तर–मन्तर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाङचुकको स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक स्वास्थ्य बुलेटिन जारी गर्ने अपेक्षा गरिएको छ । यसैबिच, पेपर लिक प्रकरण र अनशनप्रति राजनीतिक तथा नागरिक समाजका विभिन्न समूहले चासो व्यक्त गरिरहेका छन् ।