वीरगञ्ज । मन्त्रिपरिषद्ले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएपछि सिक्कामा रहेको नेपालको ‘चुच्चे नक्सा’ हटाइने विषयले व्यापक चर्चा पाएको छ। सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म सिक्काको नयाँ डिजाइनलाई लिएर बहस सुरु भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रचलित कानुनअनुसार सिक्का वा नोटको डिजाइन, आकार वा तौल परिवर्तन गर्नुपरेमा सरकारको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ। यही प्रावधानअनुसार मन्त्रिपरिषद्बाट नयाँ डिजाइनका सिक्का निष्कासनका लागि स्वीकृति प्रदान गरिएको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले नयाँ डिजाइनका सिक्काका लागि स्वीकृति दिएको अर्थ डिजाइनमा परिवर्तन हुने संकेत भए पनि मन्त्रिपरिषद्को निर्णयको पूर्ण विवरण राष्ट्र बैंकमा नआइसकेकाले आधिकारिक रूपमा के–कस्ता परिवर्तन भएका छन् भन्ने स्पष्ट नभएको बताए।
राष्ट्र बैंक स्रोतका अनुसार नयाँ सिक्काको अगाडिको भागमा हाल रहेको नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक लो घ्याकर (घार) गुम्बाको चित्र राख्ने तयारी गरिएको छ। सातौँ शताब्दीमा निर्माण भएको मानिने उक्त गुम्बा नेपालकै सबैभन्दा पुरानो बौद्ध गुम्बामध्ये एक मानिन्छ र यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वका कारण नयाँ डिजाइनमा समावेश गर्न लागिएको जनाइएको छ।
२०७८ सालमा नेपालको नयाँ राजनीतिक नक्सा, जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको थियो, त्यसलाई प्रतिबिम्बित गर्दै चुच्चे नक्सा अंकित सिक्का सार्वजनिक गरिएको थियो। प्रस्तावित नयाँ डिजाइन कार्यान्वयन भएमा उक्त नक्सा सिक्काबाट हट्नेछ।
यद्यपि, लो घ्याकर गुम्बाको संरक्षण अमेरिकी दूतावासमार्फत सञ्चालित एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रमअन्तर्गत भएको विषयलाई लिएर केही पक्षले यसलाई भूराजनीतिक दृष्टिकोणबाट समेत टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा नयाँ डिजाइनबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।
यस विषयमा सरकारले वा नेपाल राष्ट्र बैंकले सिक्काको अन्तिम डिजाइन सार्वजनिक गरिसकेको छैन। त्यसैले सिक्कामा के–कस्ता चित्र वा प्रतीक रहनेछन् भन्ने विषय आधिकारिक विवरण सार्वजनिक भएपछि मात्र स्पष्ट हुने देखिएको छ।