फाइल तस्बिर ।
वीरगञ्ज । वर्षा र सम्भावित पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै गए रातिदेखि बन्द गरिएका मुग्लिङ–नारायणगढ र मुग्लिङ–काठमाडौँ सडकखण्ड आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार राति १० बजेदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।
रातिको समयमा मुग्लिङ–काठमाडौँ सडकखण्डअन्तर्गत धादिङको जवाङ खोला नजिकै सानो पहिरो खसेको थियो । उक्त पहिरो तत्कालै पन्छाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राति अपेक्षितभन्दा कम वर्षा भएको र बिहान सडकको अवस्था सामान्य देखिएकाले सावधानी अपनाएर सवारी सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै सडक खुला गरिएको हो ।
राजमार्ग बन्द भएपछि भरतपुरतर्फबाट जाने सवारी साधनहरूलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर र जुगेडी लगायतका क्षेत्रमा रातभर रोकिएको थियो । त्यसैगरी, काठमाडौँबाट पोखरा र नारायणगढतर्फ आउने सवारीलाई मुग्लिङ र कुरिनटारमा तथा पोखराबाट आउने सवारीलाई तनहुँका विभिन्न स्थानमा रोकिन लगाइएको थियो ।
पूर्वी नवलपरासीको गैँडाकोट, भेँडाबारी र थुम्सी क्षेत्रमा रोकिएका सवारी साधनहरूलाई पनि बिहानैदेखि गन्तव्यतर्फ पठाउने काम भइरहेको ट्राफिक प्रमुख थापाले जानकारी दिए । हाल दुवै सडकखण्डमा कुनै अवरोध नरहेको र रातभर रोकिएका सवारी साधनलाई प्राथमिकताका आधारमा पालैपालो अघि बढाइरहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहले पनि दुवै राजमार्गमा यात्राका लागि कुनै अवरोध नरहेको पुष्टि गर्दै जवाङ खोलाको पहिरो हटाइसकिएकाले सुरक्षित रूपमा यात्रा गर्न सकिने जानकारी दिए ।
यसैबिच, सडक खुला भएसँगै सवारी साधनहरूको चाप बढेकाले जाम र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चालकहरूलाई लेन अनुशासन कडाइका साथ पालना गर्न आग्रह गरेको छ । ट्राफिक प्रमुख थापाले ओभरटेक नगरी जिम्मेवार ढंगले सवारी चलाउन र सुरक्षित यात्रामा सहयोग गर्न सम्पूर्ण चालक तथा यात्रुहरूलाई अपिल गरेका छन् ।