फाइल तस्बिर ।
वीरगञ्ज । देशभर मनसुनी वायुको प्रभाव बढेसँगै आज दिउँसो र राति पनि अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान नजिकै अवस्थित रहेकाले देशभर बदली भई वर्षा भइरहेको हो ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा पूर्ण बदली रहेको छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । हिमाली, पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।
विशेष गरी कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
आज राति पनि देशभर अधिकांश बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
रातिको समयमा कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । कोसी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण साना–ठुला नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने, पहिरो, डुबान, गेग्रान बहाव तथा कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबिच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण सम्भावित विपद्बाट जोगिन पूर्व तयारी गर्न र सतर्क रहन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।