एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. २ बाहिनी मुख्यालय छिन्नमस्ता, बर्दिबास (महोत्तरी) का बाहिनीपति डिआइजी विष्णुप्रसाद भट्टले कमाण्ड सम्हालेपछि आफ्नो कार्यक्षेत्रका सीमावर्ती जिल्लामा पुगेर स्थानीय सीमाबासीसँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका छन्।
सीमावर्ती क्षेत्रमा पुगेर डिआइजी भट्टले स्थानीय नागरिकसँग भेटघाट गर्दै सीमा नाकाबाट हुने लागूऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य अवैध गतिविधिबारे जानकारी लिने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका हुन्।
यसैक्रममा उनले सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दासँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका चुनौती, लागूऔषध ओसारपसारका गतिविधि तथा चोरी–तस्करी नियन्त्रणका विषयमा सुझाव तथा जानकारी संकलन गरेका छन्।
छलफलका क्रममा डिआइजी भट्टले सीमा सुरक्षा प्रभावकारी बनाउन स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सशस्त्र प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए। उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको र स्थानीय नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।
स्थानीय सीमाबासीले पनि सीमा क्षेत्रमा हुने विभिन्न अवैध गतिविधिबारे जानकारी गराउँदै सुरक्षा निकायसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बलले समुदायसँगको समन्वयलाई सुदृढ बनाउँदै सीमा सुरक्षा थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।