वीरगञ्ज। जीवन ज्योति बोर्डिङ स्कुलको इन्टर्याक्ट क्लबको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद कलवारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलवारले इन्टर्याक्ट क्लब पद प्राप्त गर्ने संस्था मात्र नभई समाज रूपान्तरणका लागि जिम्मेवार नेतृत्व उत्पादन गर्ने विद्यालय भएको बताए। क्लब विशुद्ध सामाजिक सेवाका लागि स्थापना भएकाले व्यक्तिगत लाभभन्दा पनि नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व निर्वाहमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
उनले अन्तर्राष्ट्रिय स्तरमा इन्टर्याक्ट क्लबहरूको प्रभाव विस्तार हुँदै गएको उल्लेख गर्दै जीवन ज्योति बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। साथै, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका नवनिर्वाचित अध्यक्ष इ. अनुराग साह (२०२६–२७) र उनको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे।
कार्यक्रमका क्रममा निवर्तमान अध्यक्ष सिद्धि कर्णलाई सफल कार्यकालका लागि सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो। उनले औपचारिक रूपमा वर्तमान अध्यक्ष अनुराग साहलाई पद हस्तान्तरण गरेकी थिइन्।
समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले विद्यालयमा इन्टर्याक्ट क्लब स्थापना गरिएको बताए। यस्ता सामाजिक संस्थामार्फत विद्यार्थीहरूले समाजमा रहेका विकृति–विसंगतिविरुद्ध सकारात्मक भूमिका निर्वाह गर्दै परिवर्तनका संवाहक बन्न सक्ने विश्वास उनले व्यक्त गरे।
निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकालमा सञ्चालन गरिएका विभिन्न सामाजिक गतिविधिबाट नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि तथा समाजसेवाप्रति थप प्रेरणा प्राप्त भएको अनुभव सुनाउँदै आगामी दिनमा अझ बढी विद्यार्थीहरूलाई सामाजिक अभियानमा सहभागी हुन आग्रह गरिन्।
कार्यक्रममा रोटेरियन राकेश मिश्र, निखिल गुप्ता, रामविनय यादव, संगम पण्डित, सौरभ बर्नवाल, डा. प्रीति गुप्ता, मोहम्मद उमर देवान, कनहैया गुप्ता, अशुत चौधरीलगायत रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।