वीरगञ्ज । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत जलवीरेमा दुई बस आपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बस दुर्घटनापछि सडकमा सवारी आवागमन रोकिएको हो ।
यसअघि भारी वर्षाका कारण सम्भावित पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार राति १० बजेदेखि मुग्लिङ–नारायणगढ तथा मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमनमा रोक लगाएको थियो । तर, रातिको समयमा अपेक्षाकृत कम वर्षा भएको र सडकको अवस्था सामान्य देखिएपछि आज बिहान ६ बजेदेखि दुवै सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो ।
सडक सञ्चालनमा आएको केही समयमै जलवीरे क्षेत्रमा दुई बस एकापसमा ठोक्किएपछि सडक पुनः अवरुद्ध भएको हो । दुर्घटनापछि सवारी साधनहरू केही बेर रोकिएका छ भने प्रहरी र सम्बन्धित निकायको समन्वयमा सडक खुलाउने काम जारी रहेको छ ।
रातिको समयमा मुग्लिङ–काठमाडौँ सडक खण्डअन्तर्गत धादिङको जवाङ खोला नजिकै सानो पहिरो खसेको थियो । उक्त पहिरो तत्काल पन्छाएर यातायात सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।