वीरगञ्ज । चितवनको जलवीरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिङ सडक खण्ड सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएका थिए । दुर्घटनामा करिब २५ जना यात्रु घाइते भएका छन् ।
वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार राति १० बजेदेखि बन्द गराएको सो सडक खण्ड बिहान ६ बजे खुलाइएको थियो ।
सडक खुला भए लगत्तै सवारी साधनहरूले लेन पालना नगर्दा दुर्घटना तथा जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले लेन अनुशासनमा रही सीमित गतिमा सवारीसाधन चलाउन अनुरोध गरेको छ ।