एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । आइतबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा अचानक समस्या देखिएको छ ।
साइटमा आएको प्राविधिक गडबडीका कारण प्रयोगकर्ताहरूले आफ्नो खाता चलाउन नपाएर सास्ती भोगिरहेका छन् । फेसबुकले प्रयोगकर्ताहरूलाई ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश पठाउँदै साइटमा समस्या आएको र यसलाई छिट्टै समाधान गर्ने प्रयास भइरहेको जानकारी गराएको छ।
फेसबुक डाउन भएसँगै यसको प्रभावबारे ट्रयाक गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’मा आइतबार दिउँसो साढे १ बजेको समयबाट फेसबुक डाउन भएको गुनासो गर्ने प्रयोगकर्ताहरूको सङ्ख्यामा एक्कासि वृद्धि देखिएको छ ।
धेरै प्रयोगकर्ताहरूले आफ्नो फेसबुक ब्राउजरमा खोल्न नसकेको र केही मिनेटपछि पुनः प्रयास गर्न आग्रह गरिरहेको जनाएका छन् । केही समयअघिदेखि सुरु भएको यो प्राविधिक समस्याका कारण फेसबुकको ब्राउजर प्रयोगकर्ताहरू मारमा परेका छन् ।