×

इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ। यसको जानकारी अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गराएका हुन्।  

अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति) मा बोल्दै हेगसेथले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने समेत बताए। 

उनले रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब डलर बजेट माग गरेका छन्। त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य परिचालनका लागि खर्च गर्ने योजना रहेको जनाइएको छ।

सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले बैठकमा पटक–पटक अवरोध गर्दै ’इरान र प्यालेस्टाइनमा हाम्रा बालबालिकामाथि बमबारी बन्द गर’ भन्दै नाराबाजी गरेका थिए।

यो बजेट प्रस्ताव मध्यपूर्वमा पछिल्लो समय तीन अमेरिकी सैनिकको मृत्यु भएको घटनापछि आएको हो। हेगसेथले अमेरिका आफ्ना रणनीतिक प्रतिद्वन्द्वीभन्दा पछि पर्न नहुने भन्दै रक्षा क्षेत्रमा लगानी अपरिहार्य रहेको बताए। 

उनले भने, ’यी कोष उपलब्ध नभए सैनिकलाई पारिश्रमिक दिन, आवश्यक उपकरण र गोलाबारूदको मौज्दात कायम राख्न तथा महत्वपूर्ण सैन्य अभियान सञ्चालन गर्न गम्भीर कठिनाइ हुनेछ।’

यता विपक्षी डेमोक्र्याटिक सांसदहरूले भने प्रस्तावित बजेटको कडा विरोध गरेका छन्। सिनेटर कस्र्टन गिलीब्रान्डले अमेरिकी नागरिक दैनिक जीवनयापनमै संघर्ष गरिरहेका बेला राष्ट्रपतिले बमका लागि असीमित बजेट माग्नु उचित नभएको टिप्पणी गरिन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध जितिसकेको दाबी गरिरहेकै अवस्थामा थप अर्बौं डलर किन आवश्यक परेको हो भन्ने प्रश्न पनि उठाइन्।

यसको जवाफमा रक्षामन्त्री हेगसेथले आफूले सही समयमा सही उद्देश्यका लागि आवश्यक हतियार मागिरहेको बताए। इरान र अमेरिकाबीच गत अप्रिलमा युद्धविरामको सहमति भए पनि गत सातादेखि द्वन्द्व फेरि चर्किएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। मन्त्रालयले हालै इराक र जोर्डनमा मारिएका सैनिकहरूको पहिचान पनि सार्वजनिक गरेको छ। 

यसैबीच, अमेरिकी संसदको तल्लो सदन बिहीबारदेखि बिदामा जाने र सेप्टेम्बरसम्म दुवै सदनको संयुक्त बैठक नबस्ने भएकाले पेन्टागनले माग गरेको बजेट स्वीकृत हुन अझै केही समय लाग्ने देखिएको छ।

Back to top