एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
सिरहा । सिरहाको लहान नगरपालिका–३, नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठुलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा एक थान पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पार्किङ गरी राखिएको बा २१ च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा प्लास्टिक क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा फेला परेको हो ।
प्रहरीले बरामद गरेको गाँजाको खुद तौल (प्लास्टिक हटाएर) ६५२ केजी र प्लास्टिकसहित ६६३ केजी रहेको जनाएको छ। गाँजा लुकाउन प्रयोग गरिएको करिब ९ हजार ९२० केजी नास्पातीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल सोही स्थान बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार सूचनाका आधारमा गरिएको विशेष अपरेशनबाट लागुऔषधको ठुलो खेप बरामद गर्न सफलता मिलेको हो ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कसुरमा थप अनुसन्धान अघि बढाइएको छ । उक्त गाँजाको मुख्य स्रोत, गन्तव्य र यस कारोबारमा संलग्न अन्य बिचौलिया तथा गिरोहको खोजीका लागि अनुसन्धानको दायरा फराकिलो पारिएको सिरहा प्रहरीले जनाएको छ ।