×

वीरगञ्ज । बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले स्नातक तह (बीबीएस) अन्तिम वर्षका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य विदाइ कार्यक्रम आयोजना गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम बीपीसीका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मधेश विश्वविद्यालयका प्रथम रजिस्ट्रार विजयकुमार यादव सहभागी हुनुभएको थियो।

कार्यक्रममा बीपीसीका पूर्वविद्यार्थी तथा उद्यमी रोशन गुप्ता, बीपीसीका ब्रान्ड एम्बासडर देवेश गुप्ता, कार्यकारी निर्देशक युगलकिशोर प्रसाद शाह, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि विजयकुमार यादवले स्नातक अध्ययन पूरा गरी नयाँ यात्रामा अघि बढिरहेका विद्यार्थीहरूलाई बधाई दिँदै ज्ञानसँगै सीप, अनुशासन र नैतिकताको प्रयोग नै सफलताको आधार हुने बताउनुभयो। उहाँले प्रमाणपत्र मात्र नभई असल चरित्र, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले व्यक्तिलाई सफल बनाउने उल्लेख गर्दै युवाहरूलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।

उहाँले मधेश विश्वविद्यालय गुणस्तरीय, व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षामा केन्द्रित रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर सिकाइ, सकारात्मक सोच र समाजप्रति उत्तरदायी भएर राष्ट्र निर्माणमा योगदान गर्न प्रेरित गर्नुभयो।

अध्यक्षीय मन्तव्यमा डा. दीपक शाक्यले बीपीसीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै नेतृत्व विकास, व्यक्तित्व निर्माण र व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष जोड दिँदै आएको बताउनुभयो। उहाँले विदाइलाई अन्त्य नभई नयाँ अवसर र यात्राको सुरुआतका रूपमा लिन आग्रह गर्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, हास्य प्रस्तुति तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई उत्साहपूर्ण बनाएका थिए। साथै अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो।

विदाइ कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कलेजले यस्ता कार्यक्रममार्फत विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ जीवन यात्राका लागि प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

Back to top