×

घरमा घिउको प्रयोग धेरै तरिकाले गरिन्छ। धेरैजसो मानिसले यसलाई रोटी बनाउँदा वा खाना पकाउँदा प्रयोग गर्छन्।

केहीलाई भने घिउमा फर्सी, फर्सीको मुन्टा लगायतका तरकारी पकाएको (झानेको) निकै मनपर्छ। तर, तपाईंले कहिले पानीमा घिउ मिसाएर पिउनुभएको छ ?

यसरी पिउँदा केही मानिसको पाचन प्रक्रिया र ऊर्जाका लागि फाइदाजनक हुन सक्छ। यद्यपि, यसलाई कुनै पनि रोगको उपचार वा तौल घटाउने जादुई तरिका भने मान्न सकिँदैन।

घिउले हामीलाई धेरै तरिकाले फाइदा पुर्‍याउन सक्छ तर यसको प्रयोग बुद्धिमानीपूर्वक गर्नुपर्छ। आजको यस लेखमा हामी पानीमा घिउ हालेर पिउँदा के हुन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ।

केही मानिस एक गिलास मनतातो पानीमा १ चम्चा शुद्ध घिउ मिसाएर पिउँछन्। धेरैले यो पेयलाई बिहान खाली पेटमा पिउन रुचाउँछन्। यसलाई खाली पेटमा पिउनु राम्रो मानिन्छ। यसका फाइदाहरू यसप्रकार छन्:

  • महिनावारीको दुखाइबाट राहत

यदि तपाईंलाई पेट दुख्ने समस्या छ वा महिनावारीको समयको दुखाइबाट पीडित हुनुहुन्छ भने, यो पानी पिउनु फाइदाजनक साबित हुन सक्छ। दुखाइ कम गर्न तपाईं एक गिलास मनतातो पानीमा घिउ मिसाएर पिउन सक्नुहुन्छ।

  • पाचन प्रणालीलाई फाइदा

घिउमा स्वास्थ्यकर बोसो हुन्छ, जसले आन्द्रालाई हाइड्रेट राख्न मद्दत गर्छ। यसले केही मानिसमा कब्जियतको समस्याबाट राहत प्रदान गर्न सक्छ।

  • शरीरका लागि ऊर्जा

घिउ स्वास्थ्यकर बोसोको राम्रो स्रोत हो। यदि यसलाई ठिक्क वा थोरै मात्रामा सेवन गरियो भने, यसले शरीरलाई लामो समयसम्म टिक्ने ऊर्जा प्रदान गर्न सक्छ।

  • बोसोमा घुलनशील भिटामिनको स्रोत

घिउमा भिटामिन 'ए' र 'के' जस्ता बोसोमा घुलनशील भिटामिनहरू पाइन्छन्, जसले शरीरका धेरै शारीरिक प्रक्रियालाई सुचारु गर्न मद्दत गर्छन्।

  • कसले खानुहुँदैन घिउ-पानी ?

घिउ र पानीको मिश्रण सबैका लागि फाइदाजनक हुन्छ नै भन्ने हुँदैन। यदि तपाईं उच्च कोलेस्ट्रोल, मुटुरोग, वा फ्याटी लिभरको समस्याबाट पीडित हुनुहुन्छ भने डाक्टर वा पोषण विशेषज्ञसँग परामर्श गरेपछि मात्र यसको सेवन गर्नुहोला।

Back to top