सुनसरी। सुनसरीको सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पकली चोकदेखि कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लागू गरिएको हो।
इनरुवा बजार क्षेत्रमा पनि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार कर्फ्यु अवधिमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक तथा घेराउलगायतका गतिविधिमा रोक लगाइएको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
उक्त हिंसात्मक घटनापछि जिल्लाको सुरक्षा अवस्था प्रभावित बनेकाले कर्फ्यु लगाइएको हो।
यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमास्थित महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
तर, सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक एकता कायम राख्ने र घटनालाई थप जटिल बन्न नदिन सर्वपक्षीय सहमति गरेको थियो ।
सहमतिपछि सुरक्षा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु आदेश आज बिहान १२ः१५ बजेदेखि प्रशासनले कर्फ्यु हटाएको थियो ।
तर प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।
प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रका केही पसलमा लुटपाट, तोडफोड र आगजनीसमेत भएको बताइएको छ।
विभिन्न स्थानमा प्रदर्शन सुरू भएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश पुन: जारी भएको हो।
हाल देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत निषेधाज्ञा कायम रहेको छ। प्रशासनका अनुसार हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका विभिन्न भागमा कर्फ्यु जारी छ। प्रशासनले ती क्षेत्रका लागि छुट्टाछुट्टै सीमा निर्धारण गरी आवतजावतमा रोक लगाएको छ।
हरिनगरा बजार क्षेत्रमा नुनिया टोलदेखि पश्चिम खुनिया धार, हरिनगर गाउँपालिका कार्यालय हुँदै वसन्तपुर मोडसम्म, भुटाहा बजार क्षेत्रमा मोरिया धार खोलादेखि इदगाहा फिल्ड, सुनसरी खोला हुँदै गाउँपालिका कार्यालयसम्म कर्फ्यु कायम गरिएको छ।
त्यस्तै, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा पनि प्रशासनले तोकेका चार किल्लाभित्र कर्फ्यु आदेश लागू रहेको प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले शान्ति-सुरक्षा कायम राख्न जारी आदेशको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।