×

वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, त्यसपछिको आन्दोलन तथा देशभरका स्वास्थ्य संस्था प्रभावित भएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै पर्सास्थित प्रमुख राजनीतिक दलहरूले सर्वदलीय बैठकमार्फत समस्या संवाद र सहमतिका आधारमा समाधान गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेका छन् ।

मङ्गलवार वीरगञ्ज महानगरपालिका–२४ स्थित नेपाली काँग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकमा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी भएका थिए । बैठकले नारायणी अस्पतालमा उत्पन्न विवादलाई थप जटिल बन्न नदिन वार्ता, संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकाल्दै छ बुँदे अपिल सार्वजनिक गरेको हो ।

बैठकले उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ ।

सर्वदलीय बैठकले साउन ९ गते नारायणी अस्पतालमा भएको घटनाको विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि निष्पक्ष कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

राजनीतिक दलहरूले आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, अस्पताल प्रशासन तथा स्थानीय प्रशासनबिच संवाद र छलफलमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै, चिकित्सक र प्रशासनबिच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट लोकतान्त्रिक मूल्यमान्यता र पदीय मर्यादा अनुकूल व्यवहार नभएको विषयप्रति पनि ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा संवादलाई मर्यादित र जिम्मेवार ढङ्गले अघि बढाउन आग्रह गरेका छन् ।

बैठकले मुलुकको लोकतान्त्रिक मूल्य, मान्यता र आचरणअनुसार वार्ता, सहमति र समझदारीका आधारमा नारायणी अस्पतालको विवाद समाधान गर्न सम्बन्धित निकायसँग हार्दिक अपिल गरेको छ । साथै, आम नागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै देशभर प्रभावित स्वास्थ्य संस्थाका सम्पूर्ण सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

सर्वदलीय अपिलमा नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेकपा (माओवादी केन्द्र) पर्साका जयप्रकाश थारु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साकी तुलसा पौडेल अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका सोमेश्वरनाथ उपाध्याय, नेकपा (एमाले) पर्साका डा. विश्वम्भर शर्मा, जसपा नेपाल पर्साका रामनरेश यादव तथा जनमत पार्टी पर्साका मनोज साहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

Back to top