×

आविद हुसेन :   विशेषज्ञ सेवासहितको टर्सरी अस्पतालको रुपमा स्तरवृद्धि भएसँगै वीरगञ्जको नारायणी अस्पतालको संरचनागत सुधार होला भन्ने अपेक्षा थियो । तर विशेषज्ञ सेवासहित ५ सय बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नतीको घोषणा भएको २ वर्षभन्दा बढी भइसक्दा पनि कुनै सुधारको संकेत देखिएको छैन । 

अस्पतालको भौतिक संरचना निर्माण तथा उपकरणका लागि बजेट आएको भएपनि दीर्घकालीन सोच अनुरुप प्रयोग नगरिँदा बजेट सक्नका लागि मात्रै प्रयोग भइरहेको पाइन्छ । अहिलेको समयानुरुप सुविधासम्पन्न आधुनिक अस्पताल भवन तथा आवश्यक उपकरणमा बजेट लगाउनु पर्नेमा पुरानै ढर्रामा बजेट सक्ने काम मात्रै भइरहेको छ । एउटै भवनबाट सबै सुविधा दिने गरि व्यवस्थित भवन बनाउनतर्फ अस्पताल व्यवस्थापन लाग्नु पर्नेमा टुक्रे र छुट्टाछुट्टै साना भवन बनाउन मात्रै हरेक वर्ष जसो बजेट लगाइने गरेको छ । 

बाटो वारिपारि दुबै तर्फ गरेर अस्पतालको ४ विगाह ७ कट्ठा भन्दाबढी जग्गा छ । तर अहिले थोरै मात्र जग्गा खालि छ । अधिकांस जग्गा साना टहरा प्रकारका संरचनाले भरिन लागेका छन् ।  केही समय पहिले मात्रै दोस्रो लहरको कोभिडले अवस्था विकराल बनाएपछि पश्चिमपट्टी ओपिडि बि ब्लक भनेर टिनको टहरो बनाइयो । अहिले त्यहीँबाट ओपिडि सेवा सञ्चालन भइरहेको छ । 

यस्तै कोभिड संक्रमितको उपचारका लागि आइसीयु वार्ड माथि पनि यस्तै अस्थायी संरचना बनाइयो । केही दिनअघि मात्रै अस्पताल प्रशासनले कोभिड डेडिकेटेड अस्पताल बनाउने भन्दै फेरि टेण्डर लगाएको छ । यो डेडिकेटेड अस्पताल महेन्द्र आरोग्य भवन नजिकै बनाउने तयारी छ । 

हामीलाई छुट्टाछुट्टै सेवा र सुविधा सहितको अस्पताल आवश्यक छ । तर यसरी जहाँपायो त्यहीँ साना साना टहरा जस्ता संरचना बनाउँदै जाने हो भने केही समयपछि अस्पतालको सबै जग्गा कंक्रिटमय बन्ने निश्चित छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.विरेन्द्र बहादुर प्रधानले पनि अस्पताललाई व्यवस्थापनका विषयमा ठोस योजना अघि ल्याउन सकिरहेका छैनन् । 

हामीले अहिले तत्कालका लागि मात्रै हेरेर होइन दीर्घकालीन सोच राखेर सुविधा सम्पन्न एउटै भवन बनाउनु जरुरी छ । यो गर्न सकियो भने अस्पतालले चर्चेको जमिनमा बोटविरुवा रोपेर हरियाली बनाउन सकिन्छ । यसले वातावरणमा ठूलो टेवा त पुग्छ नै अस्पतालमा उपचारका लागि आउने विरामीमा पनि सकारात्मक उर्जा प्राप्त हुन्छ । 
अस्पतालमै कार्यरत वरिष्ठ फिजिसियन डा.निरज सिंह सलाईका बट्टा जस्ता भवनहरु बनाउदै ठाउँ ओगट्दै जानुको सट्टा केही वर्ष लगाएर भए पनि सुविधा सम्पन्न एउटै भवन बनाउने तर्फ अस्पताल प्रशासनले योजना बनाउनु पर्नेमा जोड दिन्छन् । 

नारायणी अस्पताललाई टर्सरी अस्पताल बनाउने भनेर घोषणा त गरियो तर त्यस अनुरुप योजना नबनाइदा अहिले पनि अस्पताल पहिलेकै जसरी योजना विहीन तरिकाले चलिरहेको छ । 

उही संरचना उही जनशक्ति 

उपक्षेत्रीय अस्पताल हुँदा जुन भौतिक संरचना र जुन जनशक्तिले काम चलाई रहेको थियो अहिले पनि त्यसमा खासै परिवर्न भएको छैन । 

अस्पतालले पहिलेदेखि नै छाती, इन्डोक्राईनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स–रे , भिडियो एक्स–रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवा दिँदै आएको छ । 

तर, टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने प्रयाप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग नहुँदा त्यस्ता सेवा दिन सकिरहेको छैन । अस्पतालमा नाक कान घाँटी विभाग त छ तर चिकित्सक नहुँदा सञ्चालनमा ल्याउन सकेको छैन । 

टर्सरी अस्पतालले कम्तिमा न्युरो, नेप्रोलोजी, प्लाष्टिक एण्ड वर्न सर्जरी, कार्डियो फोरेसिभ एण्ड भेस्कुलर सर्जरी लगायतका सुविधा दिन सक्नुपर्छ । तर यस्ता सुविधाहरु अस्पतालले दिन सकेको छैन । नेपाल सरकारको मन्त्री परिषदको मिति २०७५ पुष १६ गते बसेको बैठकले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहितको टर्सरी अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । 

यसका साथै अस्पतालको स्तरोन्नतिका लागि संघ सरकारले थप जग्गा खोज्ने काम पनि अघि बढाएकै थियो । त्यसमा वीरगञ्ज महानगरपालिकाले झण्डै १४ विगाहा जग्गा खोजेको पनि थियो । 
तर अहिलेसम्म जग्गा प्राप्ति र स्तरोन्नतिको थप काम अघिबढ्न सकेको छैन ।
 

Back to top