×

प्रकाश उपाध्याय 
वीरगञ्ज, २१ साउन । 
  विधानतः प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन साढे पाँच वर्षको समयावधिभित्र पनि हुन नसक्नु नेतृत्वको अक्षमता हो । लोकतान्त्रिक लिगेसी बोकेको कांग्रेसको महाधिवेशनको मिति तय भएर पनि पटकपटक पछाडि धकेलिनुले नेतृत्वको चरम लापरवाहीसँगै असफलता पनि प्रदर्शित भएको छ ।

लोकतान्त्रिक मूल्यमान्यता बोकेको एउटा जीवन्त पार्टीमा महाधिवेशन निर्धारित समयमा हुनुले नेतृत्व विकास एवं पार्टीमा ऊर्जा दिन्छ । त्यसमा पनि स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्वको छनौट लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले त अद्यावधिक निर्वाचन को व्यवस्था संविधान र विधानमा अनिवार्य गरिएको हुन्छ ।

काबुभन्दा बाहिरको परिस्थितिका लागि समयावधि थप गर्न पाउने वैधानिक व्यवस्थालाई टेकेर नेतृत्वको आयु लम्ब्याउन खोज्ने प्रवृत्तिलाई पद्धति बनाउदै जाँदा गलत नजीर स्थापित हुन्छ । त्यस्तो प्रवृत्तिले न त लोकतन्त्र सुदृढ हुन्छ न त पार्टी सङ्गठन नै ।

त्यसमा पनि कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले विधिविद्यानको मर्मलाई पालन नगर्ने हो भने सुसंस्कृत राजनीतिको शिक्षा अरू कुन पार्टीबाट आशा गर्न सकिन्छ र ? सक्षम, सुदृढ एवं सबल कांग्रेसको लागि गतिशील नेतृत्व चाहिन्छ ।

महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद विधानतः नहुनु पर्ने हो । तर, हरेक पटक उही पुरानो रोग दोहरिएको हुन्छ । यसप्रति नेतृत्वको उदासीनता र इच्छाशक्तिको कमी देखिन्छ । यसप्रति नेतृत्व गम्भीर बनोस् र अब निर्धारित हुने मितिमा दृढताका साथ महाधिवेशन सम्पन्न गरियोस् । यो कांग्रेस र लोकतन्त्रप्रति चिन्तनशील प्रत्येकका लागि चिन्ता र सरोकारको विषय बनेको छ ।

(उपाध्याय नेपाली कांग्रेस पर्साका उपसभापति एवम् महासमिति सदस्य हुन् ।)
 

Back to top