×

“जिज्ञासालाई जीवनचक्रको सबै चरणमा नकारात्मक र सकारात्मक दुवै तरीकामा एक महŒवपूर्ण उद्देश्यको रूपमा मान्यता दिइएको छ । यसलाई बालविकासमा चालक शक्तिको रूपमा पहिचान गरिएको छ (स्टर्न र वोहिल्वल्ल, १९७३) ।”

हार्वर्ड बिजनेश स्कूलका विज्ञहरूले जिज्ञासाका पाँचवटा आयामका बारेमा अनुसन्धान गरेका छन् । ती हुन्– डेप्रिभेशन सेन्सिटिभिटी (Deprivation Sensitivity), जोयस एक्सप्लोरेशन (Joyous Exploration), सोसिअल क्युरिओसिटी (Social Curiosity), स्ट्रेस टोलेरेन्स (Stress Tolerance) र थ्रिल सिकिङ (Thrill Seeking) । यिनै प्रक्रियाहरूबाट बालबालिकाहरूले आफूलाई दक्ष बनाउन सक्छन् ।

पाउलो कोएल्हो भन्छन्, “पर्खनु पीडादायी छ, तर के गर्ने थाहा नहुनु सबैभन्दा नराम्रो पीडा हो।” त्यसैगरी, सद्गुरू वाचन गर्छन्, “यो नजानेको पीडा हो, जसले मानिसलाई वास्तवमा जीवनलाई थाहा पाउन प्रेरित गर्छ । अन्यथा तिनीहरू केवल ती चीजहरू जान्न खोज्छन्, जसले तिनीहरूलाई मात्र बाँच्न प्रेरित गर्दछ ।”

यस संसारमा भइरहेका हरेक कुराका बारेमा किन अपडेट हुन आवश्यक छ ? कतिपय कुराको ज्ञान हुनु राम्रो हुन्छ । चीजहरूको बारेमा पहिले नै थाहा पाउँदा हामीलाई समस्याहरूबाट बच्न मदत गर्दछ वा हाम्रो रचनात्मकतालाई फुल्न अनुमति दिन्छ ।

तर यदि हामी सबै कुराको बारेमा सचेत छौं भने पनि अझै कति समयसम्म हामी हाम्रो जीवनमा समस्याग्रस्त चीजहरूबाट बच्न सक्छौं । आजको समयमा मानिसहरू कुनै पनि प्रकारका समाचारका बारेमा अपडेट हुन चाहन्छन्, कसैको जीवनमा यसको सान्दर्भिकताको बारेमा चिन्ता नगरी ।

जसरी हामी सबै यस ब्रह्माण्डमा रहस्यमयरूपमा एकअर्कासँग जोडिएका छौं । प्रत्येक घटनाले हाम्रो जीवनलाई प्रभाव पार्छ वा हाम्रो जीवनको स्थितिमा लहरहरू सिर्जना गर्दछ, चाहे हामी चाहूँ या नचाहूँ ।

अज्ञानता अपराध होइन तर जानेर पनि गलती गर्नु महापाप हो । सबै मानिसले ज्ञान आर्जन गर्ने, आफ्नो ह्दयलाई विशाल बनाउने अवसर नपाएका पनि हुन्छौं । अज्ञानताभित्र निर्दाेषपन पनि निहित हुन्छ । अज्ञानतावश भएका गलती क्षम्य पनि हुन्छन् तर सधैं अज्ञानतामैं रमाएर गलती गरिरहनेले सजायको भागीदार अवश्य हुनुपर्दछ । फेरि ज्ञान के र कतिलाई भन्ने ? यसको सीमा पनि अनन्त छ । त्यसैले यो सिकाइको प्रक्रियामा को ज्ञानी र को अज्ञानी छुट्याउन पनि त्यति सजिलो छैन । सबैभन्दा ठूलो कुरा हाम्रो ज्ञान वा अज्ञानताले कसैलाई हानि पु¥याउनुभएन । फेरि अज्ञानतामा कुरूपता मात्र हुँदैन, त्यहाँ निष्कपटता र सुन्दरता पनि अन्तर्निहित हुन्छ । यसै सन्दर्भमा एउटा प्रसङ्ग यहाँ प्रस्तुत छ ।

कुनै गाउँमा एकजना अति नै गरीब र अनपढ मानिस थिए । ‘काला अक्षर भैंस बराबर’ भन्ने उखान उनमा लागू हुन्थ्यो । सम्पत्तिको नाममा केही नभएको ठूलो र गरीब परिवारका उनले विदेश जाने जमर्काे गरे । तर आर्थिक हैसियत थिएन, न त विदेश जान आवश्यक पर्ने कागजात र अन्य प्रक्रियाका बारेमा नै थाहा थियो । त्यसैले विदेश गएपछि मनग्य पैसा कमाउन पाइन्छ भनेर सुनेका उनी सातुको पोको बोकेर वैदेशिक यात्रामा निस्किए । महीनौं दिनको हिडाइपछि उनी कुनै देशको ठूलो शहरमा पुगे । बाटोछेउमा रहेका होटलमा विभिन्न किसिमका परिकार सजाइएका थिए । होटलेहरूले बटुवाहरूलाई आआफ्नो होटलमा मीठो र सस्तो खाना खान पाइने कुराको विज्ञापन गरिरहेका थिए ।

ग्राहकहरूलाई पाखुरामा समातेर टेबुलसम्म पु¥याइदिने अनौठो चलन थियो त्यहाँ । कामको खोजीमा गएका ती मानिसलाई एउटा होटलेले बडो सम्मानका साथ टेबुलमा लगेर बसायो । सा¥है भोकाएका उनी त्यसरी सम्मानपूर्वक खान पाउँदा ज्यादै खुशी भए । उनले मनमनै त्यस ठाउँको प्रशंसा गरे । भोकमा जे पनि खीर भएझैं उनलाई भयो । यति मीठो खाना यति सम्मानपूर्ण ढङ्गले उनले जीवनमा पहिलोपटक खाएका थिए ।

यो अभूतपूर्व सम्मान उनले पहिलोपटक ससुराली जाँदा पनि पाएका थिएनन् । एकजना वेट्रेस उनको सेवाका लागि खटाइएको पनि थियो । यति ठूलो आदरका लागि धन्यवाद दिन मन नलागेको होइन तर उनको भाषा होटलेले बुझ्दैनथे भने उसले पनि होटलेको भाषा बुझ्ने कुरै भएन । उसले मनमनै सोच्यो, “कति दानी रहेछन यहाँका मान्छे ?” अनि आफ्ना देशका मानिस सम्झ्यो । भीख माग्दा पनि एक छाक खान नपाएको, ऋण माग्दा पनि कसैले नदिएको कुरा सम्झ्यो र त्यस होटलेप्रति कृतघ्न भयो ।

खाना खाइसकेपछि वेट्रेसले बिल लिएर आइन् । उसले सोच्यो कति राम्रो ठाउँमा आइएछ ? खान पनि सित्तैमा पाइने, प्रमाणपत्र पनि पाइने । ऊ त्यो बिललाई गोजीमा हाली हिंड्न लाग्यो । पैसा नतिरी हिंड्न लागेको देखेर होटल मालिकले आफ्नै भाषामा पैसा माग्न थाल्यो तर उसले कुरा बुझ्न सकेन । होटल मालिकले बाध्य भएर उसैको सबै गोजी खोतल्यो । एक पैसा पनि ऊसँग थिएन ।

यसरी खाइसकेर पनि पैसा नतिर्ने मानिसलाई अनौठो किसिमले सजाय दिने चलन रहेछ त्यहाँ। त्यो के भने गधामा चढाएर, अनुहारभरि मोसो पोतेर ढ्याङ्ग्रो ठटाउँदै शहर परिक्रमा गराउने । त्यसपछि गधा ठीक पारियो । उसलाई त्यसमा चढाइयो । अनुहारभरि रातो रङ पोतियो । कालाको देश अफ्रिका रहेछ त्यो । सबै काला भएकाले कालो मोसो दल्न आवश्यक नभएकोले रातो दलिने चलन रहेछ ।

जब रातो दलेर बाजागाजाका साथ गधामा सवार गराइयो, ऊ बडो आनन्दसँग बस्यो । त्यो होटलेले आफ्नो गोजी छाम्दा पैसा नभेटेपछि सहानुभूतिपूर्वक यो साधनामा चढाएर घुमाएको होला भन्दै त्यस होटलेले आफूप्रति देखाएको असीम माया र सम्मानप्रति कृतज्ञता व्यक्त गरिरह्यो । रमाइलोसित गधामाथि घुमिरहेकै बेलामा एकजना चिनजानको गाउँलेले उसलाई देख्यो । आफ्नो देशको मान्छेलाई त्यसरी बेइज्जतका साथ घुमाइरहेको देख्दा ऊ लज्जित भयो र उसको नजीक परेन । यसरी शहरको परिक्रमा सकेर उसलाई छाडियो ।

केही वर्ष त्यही ठाउँमा बसेपछि बिस्तारै उसले त्यहाँको रहनसहन, भाषा, भेषभूषा बुझ्न थाल्यो। बल्ल उसलाई थाहा भयो कि उसलाई सम्मान होइन, अपमान गरिएको रहेछ । त्यसपछि भने उसलाई आत्मग्लानि हुन थाल्यो, आफूलाई अरूका सामु मुख देखाउन लाज लाग्न थाल्यो । बल्ल उसलाई थाहा भयो कि झन् बुझ्यो झन् कठिन रहेछ । उसले केही नजान्दा उसलाई कुनै प्रतिष्ठाको चिन्ता थिएन । आफ्नैपन र अज्ञानतामा नै ऊ खुशी थियो । तर आज ऊ जब जान्ने भयो । उसलाई हिजोका कुराले पिरोलिरहेको छ ।

सिकाइ ः वास्तवमा जान्नु, सुन्नु, देख्नु, भोग्नु, पाउनु नै दुःख हो । जब मानिसले माथिका सबै कुराका बारेमा थाहा पाएको हुन्छ, अनि त्यो प्राप्त गर्ने प्रबल चाहना उसमा जागृत हुन थाल्छ । जब ऊ अरूले त्यही कुरा प्राप्त गरेको थाहा पाउँछ, उसले पनि त्यसको खोज गर्दछ । असीमित आवश्यकता र सीमित वस्तुका बीचमा तालमेल नहुँदा आवश्यकता कहिल्यै पूरा हुँदैन, जसका कारणले मानिसमा असन्तोष, वितृष्णा र दुःख पैदा हुन थाल्छ । तर आफूले नजान्नु कुनै अपराध होइन । जानेर नजाने जस्तो गर्नु चाहिं ठूलो अपराध हो । त्यसो भनेर शिक्षा आर्जन गर्न नै भने छाड्नुहुँदैन र भएकै कुरामा सन्तोष लिन सक्नुपर्दछ ।

जाँदाजाँदै

जब तिमीलाई लाग्छ, “मलाई थाहा छैन, तिमीभित्र केही जान्नको लागि चाहना जाग्छ, इच्छा जाग्यो भने खोज जाग्छ, खोजी भयो भने जान्न सक्ने सम्भावना रहन्छ ।”
कुनै चीजको जान्ने तीव्र इच्छाले नै हामीलाई नयाँ सिकाइको बाटो खोल्दछ ।

जिज्ञासाले केही जान्ने तीव्र इच्छालाई बुझाउँछ । नदेखिएकोलाई हेर्नु र अज्ञातलाई जान्नु मानवीय स्वभावमा निहित छ । जिज्ञासा ज्ञानको जननी हो । वास्तवमा जिज्ञासाले धेरै खोज वा आविष्कारको पछाडि चालक शक्तिको रूपमा कार्य गर्दछ । यो मानव सभ्यताको हरेक प्रगतिको मूल स्रोत हो ।

जिज्ञासाले नयाँ सम्भावनाहरू खोल्छ र थप प्रगतिको लागि नयाँ चासो उत्पन्न गर्दछ । उदाहरणका लागि, हामी महान् वैज्ञानिक सर आइज्याक न्यूटनको बारेमा सोच्न सक्छौं । एक दिन उनी स्याउको रूखमुनि बसे । एउटा स्याउ तल खस्यो । उनी सचेत भए । उनले आफैंलाई सोधे कि स्याउ किन माथि जाँदैन । त्यसपछि उनले गुरूत्वाकर्षण बलको नियम आविष्कार गरे। - प्रतिकबाट

Back to top