छुकछुक... छुकछुक... छुकछुक... ! रेलको आवाज पहिलोपल्ट मैले करीब आठ दशकअघि सुनें हुँला । यसो सम्झँदा लाग्छ, हनुमान इञ्जिन बोकेर त्यो रेल भर्खंरै छुटेको छ, अमलेखगञ्जतिर । सत्यनारायण, हीरा र म दौडिँदै रेलको पछिल्लो डिब्बामा चढेका छौं । विश्वेश्वर र शंकरहरू अर्को डिब्बामा झुण्डिए । सिनेमाका दृष्य झैं लाग्ने यी हाम्रा जीवनका नित्य कर्म थिए । बाल्यकालीन ती दिनमा हामी पुरानो रेलका डिब्बा–डिब्बा चहार्दै वीरगञ्जको चक्कर लाउँथ्यौं । खुब रमाइला थिए ती दिन । यतिबेला उमेरको ८५ औं घुम्तीमा आइपुगेर म त्यसबखतको वीरगञ्जलाई सम्झँदै छु ।
मैले देख्दा वीरगञ्ज जम्मा दुई लाइनको बजार थियो, मेन रोड र माइथान मन्दिरनेरबाट छुट्ने दुई नम्बर रोड । पातलो बस्ती । घर पनि गिलवा (माटो) वा सुर्खिचुनाले बनेका एक वा दुई तले । जनसंख्या पनि थोरै । प्रायः घरको अगाडि पट्टि बरण्डामा टिनको सेड हुन्थ्यो । तला छाप्ने घरमा लकडीको बिममाथि सतिर (काठको फलेक), त्यसको माथि इँटाको प्रयोग गरिएको हुन्थ्यो । यसरी छत बनाइन्थ्यो । त्यसो गर्दा गर्मी कम हुन्थ्यो ।
त्यसबेला सिमेन्ट त बनेकै थिएन । व्यापार गर्नेहरू घरको भुइँतलामा पसल थाप्थे । बजारभन्दा वरपरका बस्तीमा प्रायः झोपडपट्टी थिए । त्यता किसानहरू बस्थे । बजारकै घरहरूमा पनि वस्तुभाउ पालिएका हुन्थे । कच्ची बाटोमा हिँडिरहेको टाँगाको खटखट एकतमासको आवाज लाग्थ्यो । रेलले मार्ने सिटी टाढैबाट सुनिन्थ्यो । साइरन सुनेपछि स्टेशनतिर रेल हेर्नेको ताँती छुट्थ्यो ।
एउटा रमाइलो कुरा, त्यसबखत वीरगञ्जबाट काठमाडौं जाँदा नेपालीलाई समेत राहदानी लिनुपर्थ्यो । वीरगञ्जकै स्टेशनमा एउटा टेबुल राखेर राणा बडाहाकिमका कारिन्दा बसिरहेको हुन्थे । उनीहरूले छोटो अवधिका लागि हातैले एउटा कागजमा लेखेर दिन्थे
हालको मेन रोड भएर रक्सौलबाट अमलेखगञ्जसम्मको रेल चल्थ्यो । हिजुरबाले भन्नुभएको, व.सं. १९९० सालको भूकम्पले जमिन फाटेर बालुवा बाहिर निस्कँदा रेलको लिकमा निकै क्षति पुगेको थियो रे । त्यो रेल्वेको कारण यहाँका बाटो अलिकति फराकिला भए । किनकि, रोडकै बीचबाट रेल जान्थ्यो । पछि सरकारले पूर्वतिरबाट पुरानो लाइन हुँदै रेल्वेलाई घुमाएर रक्सौलसँग जोड्यो । त्यस क्षेत्रलाई अहिले पनि रेल्वेरोडले नै जानिन्छ ।
वीरगञ्जबाट काठमाडौं जान राहदानी
वास्तवमा त्यतिबेला रेल्वे नै वीरगञ्जको ‘लाइफलाइन’ थियो । रक्सौल स्टेशनमा नेपाल साइडिङ भन्ने स्टेशन थियो, त्यहाँबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो । अमलेखगञ्जदेखि चुरियामाईसम्म गाडीको बाटो बनेको थियो, त्यहाँ कमाण्डर जीप चल्थ्यो । चुरियामाईमा एउटा सुरुङ थियो । जीप त्यहीँ भएर जान्थ्यो । चुरियामाईको राणाकालीन सुरुङ प्रयोगविहीन अवस्थामा अहिले पनि छ । अमलेखगञ्जबाट सुरुङ भएर हेटौंडा, भैँसिया हुँदै भीमफेदीसम्म जान्थ्यो । भीमफेदीदेखि पैदल हिँडेर थानकोट निस्कने बाटो थियो । त्यसबेला नेपालका अन्य भूभाग र भारतलाई पनि राजधानी काठमाडौं जोड्ने यही एउटा बाटो थियो । एउटा रमाइलो कुरा, त्यसबखत वीरगञ्जबाट काठमाडौं जाँदा नेपालीलाई समेत राहदानी लिनुपर्थ्यो । वीरगञ्जकै स्टेशनमा एउटा टेबुल राखेर राणा बडाहाकिमका कारिन्दा बसिरहेको हुन्थे । उनीहरूले छोटो अवधिका लागि हातैले एउटा कागजमा लेखेर दिन्थे । मेरो विचारमा काठमाडौंमा अनावश्यक मानिसको आवातजावत नहोस् भनेर यस्तो गरिएको थियो । ००७ साल अघिसम्मको कुरा हो ।
काठमाडौंं जोड्ने सडक बनेकै थिएन । हात्ती, घोडाका सौखिन राणाहरूलाई गाडी चढ्न मन लाग्यो । गाडी भारतबाट झिकाइयो । कलकत्ता बन्दरगाहदेखि अमलेखगन्ज रेलमा र त्यसपछि कुदाएरै भीमफेदीसम्म ल्याइयो । भीमफेदीबाट गाडीको पार्टपूर्जा खोलेर नल कसी भरियाहरूले बोकेर थानकोेटसम्म पुर्याए । काठमाडौंभित्र भने केही बाटो बनाइएको थियो । हामी केटाकेटीलाई राखेर बेलाबेला हजुरबा यस्ता कुरा सुनाउनुहुन्थ्यो । ती भरियाले राणाहरूको गाडी बोक्दा निकै दुःख पाएको थिए रे ।
रेलको हनुमान इञ्जिन
त्यसबेला यहाँको सवारी साधन भनेको रेल, टाँगा थियो । बिहानैतिर स्टेशनमा रेल आइपुग्थ्यो, स्टेशन हालको विपी उद्यान भएको क्षेत्रमा थियो । साइरन सुनेपछि मानिसहरू हतारहतार रेल हेर्न दौडिन्थे । रेल देखिरहेकै मानिस पनि घुम्न त्यतै पुग्थे । स्टेशन साथीभाइ, आफन्त भेटघाटको थलो पनि थियो । त्यो बेला घुमफिर वा मनोरञ्जन गर्ने ठाउँ भनेकै त्यही स्टेशन थियो । आठ/दश डिब्बाका न्यारोगेज रेलको गति पनि निकै कम । त्यहाँबाट हिँडेको रेल परवानीपुरबाट सिमरा, आधाभार हुँदै अमलेखगञ्जसम्म दिउँसो पुग्थ्यो, रक्सौल पुग्न साँझसम्मै लाग्थ्यो ।
वीरगञ्ज बजार नाघेपछि कुदिरहेकै रेलबाट हाम फाल्थ्यौं । कहिलेकाँही एउटा डिब्बाबाट झरेर अर्को डिब्बामा पनि चढ्न भ्याउँथ्यौं । त्यो सानो रेलको इञ्जिनका नाम गज्जबका हुन्थे, एउटाको हुनमान, अर्कोको सीताराम । त्यस्तै अरु पनि नाम थिए, अहिले बिर्सेछु ।
रेलको गति यति सुस्त हुने कि हामी केटाकेटी छँदा इञ्जिनसँग जोडिएको डिब्बामा दौडिँदै गएर चढ्थ्यौं । वीरगञ्ज बजार नाघेपछि कुदिरहेकै रेलबाट हाम फाल्थ्यौं । कहिलेकाहीँ एउटा डिब्बाबाट झरेर अर्को डिब्बामा पनि चढ्न भ्याउँथ्यौं । त्यो सानो रेलको इञ्जिनका नाम गज्जबका हुन्थे, कुनैको हुनमान, कुनैको सिताराम । त्यस्तै अरू पनि नाम थिए, अहिले बिर्सेँछु ।
पछि सडक बन्न थाले, रेल चल्न क्रमशः बन्द भयो । त्यहाँ टाँगा मात्रै चल्थ्यो, त्यो पनि पाँच, सात वटा ओहोरदोहोर गर्ने । अहिले बजार विस्तार भएको ठाउँमा हामी जन्मिनुभन्दा पहिले जंगल थियो रे । मैले देख्दा पनि यहाँ पातलो गरी तर ठूलठूला पेड (रुख)हरू थिए । अहिले आदर्शनगर भएको ठाउँमा त्यतिबेला दश जनाले अंगालोले फेरो मार्दा पनि नभ्याउने ठूलो वर्गदको रुख थियो । गाउँतिरका मानिसहरू गर्मीमा शीतल बस्न त्यहीँ भेला हुन्थे । त्यसैको छायामा टाँगा स्टेशन थियो ।
हाम्रो घरको उत्तरपट्टि पकडीको, दक्षिणपट्टी पिपल, कदमका पेड थिए । यसरी नै शहरमा पातलो गरी पेडहरू थिए । ती शहरको शोभा थिए । अहिले त शहर भन्नु घरैघर भएको छ ।
अहिले भन्सार कार्यालय सीमा नाकामा छ । त्यसताका भन्सार हालको वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यालय रहेको विर्तासँग जोडिएकै ठाउँमा थियो । पारि भारतबाट आएको मालको त्यहाँ ढाँट लगाएर चेकजाँच गरी यता पठाइन्थ्यो ।
राणा प्रधानमन्त्री वीर शमशेरले वि.सं. १९४५ तिर वीरगञ्ज बजार बसाएका थिए । पर्साको अलौं भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारियो । पछि सोही गाउँ वीर शमशेरका नामबाट वीरगञ्ज नामाकरण गरिएको इतिहास छ । यो बजार बस्नुअगाडि नै श्रीपुर, मुसरवा, अलौं, बगही, बरेवा, छपकैया, कलैयालगायत आसपासका बस्ती बसिसको थिए । अलौंमा अहिले वीरगञ्ज सुख्खा बन्दरगाह छ । त्यही विन्दबासिनी माताको ठूलो मन्दिर पनि थियो । त्यसबखत ठाउँठाउँमा हटिया लाग्थ्यो । एकदिन श्रीपुरमा लागे, अर्कोदिन छपकैयाँमा लाग्थ्यो । वस्तु विनिमयको लागि देहातका बस्तीबाट मानिसहरू यस्तै हटिया भर्न निस्कन्थे ।
क्रान्तिकालीन वीरगञ्ज
पहिले यहाँ सुवर्णशमशेरको बुबा हिरण्यशमशेर बडाहाकिम थिए । हिरण्यशमशेरलाई मैले पनि देखें । ००७ सालको क्रान्तिताका सोमशमशेर यहाँको बडाहाकिम । नेपाली कांग्रेसको विपी कोइरालाहरूले गरेको सशस्त्र क्रान्तिको उभार यहीँबाट उठेको थियो । हतियार बोकेका क्रान्तिकारीहरू वीरगञ्ज पसे भन्ने हल्ला चल्यो । मान्छेहरु डराएका देखिन्थे । नभन्दै सशस्त्र दस्ताले दीपावलीको भोलिपल्ट बिहान बडाहाकिमलाई ट्रकमा हालेर हाम्रो घरअगाडिकै बाटो सीमातिर लगे । खुल्ला डालीमात्रै भएको पुरानो प्रकारको ट्रकमा एउटा काठको कुर्सीमाथि हातखुट्टा सारा बाँधेर सोमशमशेरलाई राखिएको थियो । बडाहाकिम समातिएपछि उनीहरूलाई वीरगञ्ज कब्जा गर्नमा एकदिन पनि लागेन ।
त्यसबखत हालको नारायणी अस्पताल भएको स्थानमा एक जना बंगाली डाक्टरसहितको स्वास्थ्य चौकी थियो । रेल्वेमा पनि एक जना चक्रवर्ती थरका डाक्टर थिए । बरगतको ठूलो पेडनेर एउटा सामान्य क्लिनिक खोलेर दाडीबाबु नामले चिनिने अर्का डाक्टर बसेका थिए । वातावरण सफा थियो, आफ्नै खेतबारीमा फलेका अनाज खान्थे, मान्छे धेरै बिरामी पर्दैनथे । बिरामी परे पनि गाउँतिरका मानिस डाक्टरकहाँ कमै मात्र आउँथे ।
स्कुलभरिमा एकजना छात्रा
जुद्ध शमशेरका पालामा यहाँ त्रिजुद्ध हाइस्कूल खुलेको हो । मैले पनि त्यहीँबाट एसएलसी गरें । स्कुलमा एक जना त्यहीँ बसोबास गर्ने शाह खलककी छोरी पढ्थिन् । तिनीबाहेक कसैका छोरी आउँदैनथे, जम्मै केटाहरूमात्रै ।
त्यतिबेलासम्म एसएलसी बोर्डले काठमाडौं र वीरगञ्जमा मात्रै जाँच लिन्थ्यो । विराटनगर, जनकपुरबाट पनि जाँच दिन यहीँ आउँथे । ०१० सालमा स्नातकसम्म पढाइ हुनेगरी नाइट कलेज सुरु भयो । कलेज यहीँ पढे पनि जाँच दिन साथीहरूसँग म पनि भीमफेंदीको बाटो पैदल नै काठमाडौं पुगेको याद छ । बिहान पाँच बजे भीमफेंदीबाट हिँडेर बेलुका चार बजे थानकोट निस्केका थियौं ।
हतियार बोकेका क्रान्तिकारीहरू वीरगञ्ज पसे भन्ने हल्ला चल्यो । मान्छेहरू डराएका देखिन्थे । नभन्दै सशस्त्र दस्ताले दीपावलीको भोलिपल्ट बिहान बडाहाकिमलाई ट्रकमा हालेर हाम्रो घर अगाडिकै बाटो सीमातिर लगे । खुल्ला डालीमात्रै भएको पुरानो प्रकारको ट्रकमा एउटा काठको कुर्सीमाथि हातखुट्टा सारा बाँधेर सोमशमशेरलाई राखिएको थियो ।
बाटोमा खाजा खाने ठाउँ नभेटिने, आफैंले बोकेर लगेको खाजा चौतारोतिर थकाइ मार्दै खाजा खान्थ्यौं । त्रिचन्द्र कलेजमा बीएको जाँच चलिरहेको थियो । परीक्षा हलमै एक कान, दुई कान राजा महेन्द्रको मृत्युको खबर आयो । १३ दिनसम्म देशमा शोक बिदा भयो । हामी बीए पढ्ने बेलासम्म त त्रिभुवन राजपथ पनि बनिसकेको थियो, सिमराबाट काठमाडौं हवाइजहाज पनि चल्थ्यो ।
उद्योगतिर फड्को
त्यसबखत वीरगञ्जमा कपडाको ठूलो मण्डी थियो । त्यसबेला भारतीय सीमा बजारतिर कपडाको व्यापारमा कोटा प्रणाली लगाइएको रहेछ । तर नेपालको लागि भने भारतका ठूला शहरबाट माल दिन्थ्यो । त्यसो हुँदा पारिका व्यापारी पनि यता आएर कपडा लिएर जान्थे । वीरगञ्जमा स्थानीय व्यापारी त थिए नै, अहमदावाद, बम्बई, कानपुरतिरका व्यापारी पनि यहाँ आएर कपडाको मण्डी थापेका थिए ।
वीरगञ्ज विकासको गतिमा थियो । ट्रेडिङबाट क्रमशः उद्योगतिर लम्कियो । हालको वीरगञ्ज चिनी कारखाना भएको स्थानमा राणाहरूकै पालामा एउटा कटन मिल खोलिएको थियो । त्यसले कपडामा पनि उत्पादन गर्यो । यस क्षेत्रमा प्रसस्त मात्रामा धान उत्पादन हुने, त्यही भएर भगवती, दुर्गा र कैलाश नामका राइस मिल खुले । पछि भारतसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भयो । यहाँ सलाई र चुरोट कारखाना पनि थिए । अचेल यहाँ धेरै उद्योगधन्दा छन् ।
१६ गोटीको जुवा
मनोरञ्जनको नाममा नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुतिगृह भएको स्थानमा एउटा सिनेमा घर थियो । जस्तापाताको सेड हालेर बनाइएको अस्थायी प्रकृतिको हलमा प्रोजेक्टरमार्फत् सिनेमा देखाइन्थ्यो । राजकपुर, देवानन्दका सिनेमा हेर्न मानिसको भीड हुन्थ्यो । यतापट्टि माइस्थान मन्दिरनेर पनि एउटा त्यस्तै हल थियो ।
राणाकाल रहुञ्जेल तिहारको पाँच दिन सरकारले नै जुवा खेल्न खुल्ला गर्थ्यो । सूचना लिएर सरकारी अड्डाका कारिन्दा बिहान सखारै बजारभरि झ्याली पिट्थे । १६ गोटीको जुवा हुन्थ्यो । बिर्तादेखि माइस्थानसम्मको बाटोभरि चमेना लगाएर जुवाको खाल थापिन्थ्यो । नेपाली त हुन्थे नै, भारतीयहरूसम्म जुवा खेल्न आउँथे ।
जुवा काण्डसँग सात सालको क्रान्तिको सम्बन्ध थियो । सँधैंझैं त्यो सालको तिहारका बेला सबै जुवामा मस्त थिए । कांग्रेसका क्रान्तिकारी सशस्त्र दस्ताले सोही मौका छोपेर बडाहाकिमलाई कब्जामा लिए । यहाँको सैनिक क्पाम्प कब्जा गर्न पनि केही दिन लागेको थियो । सुवर्णशमशेरको भान्जा कप्तान थीरबम मल्लले दस्ताको नेतृत्व गरेका थिए, उनले त्यहीँ सहादत प्राप्त गरे । वीरगञ्जकै तेजबहादुर अमात्यले बाँकी आन्दोलनको कमाण्ड गरेका थिए । वीरगञ्ज १० दिनसम्म कांग्रेसले कब्जा गर्यो । काठमाडौंबाट सेना आएपछि भने दस्ता यहाँबाट भाग्नु परेको थियो । केही महिनापछि दिल्ली सम्झौता भयो, प्रजातन्त्र आएपछि विपी कोइराला प्रधानमन्त्री बने । यसो हेर्दा राणाहरूविरुद्ध कोही नबोलेजस्तो देखिए पनि भित्रभित्रै यहाँका जनता क्रान्तिमा संलग्न भएको पछि थाहा पाइयो ।
लालटिनको उज्यालो
बुबाहरु पसलतिरै व्यस्त, साँझ परेपछि आमाहरु लालटिन बाल्न थाल्नुहुन्थ्यो । अँध्यारो खस्दै गएपछि लालटिनको मधुरो प्रकाश नै हाम्रा लागि उज्यालोको बाहक बन्थ्यो । त्यही लालटिनको उज्यालोमा हामी केटाकेटी त्यही लालटिन बालेर पढ्थ्यौं । घर वा टोलमा पारिवारिक वा सांस्कृतिक कार्यक्रम हुुँदा पेट्रोलम्याक्स बालिन्थ्यो । आँखै खाने त्यसको उज्यालो हेर्न हामी केटाकेटी पुतली झैं वरिपरि झुम्मिन्थ्यौं । प्रजातन्त्र आएपछि यहाँ जेनेरेटर राखी पावर हाउस बनाएर बजारमा लाइन दियो । जाडोमा साँझ ६ बजेदेखि गर्मीयाममा ७ बजेदेखि १० बजेसम्म बत्ति दिन्थे ।
डेढ सय वर्षअघिको कुरा, राजस्थानमा हाम्रोसँगैको गाउँका मुनिलाल चौधरी नेपाल आई व्यापार गर्ने रहेछन् चौधरीमार्फत् यता व्यापारको राम्रो सम्भावना देखेपछि हाम्रो हजुरबुबा लख्खिराम चाचन व्यापारको सिलसिलामा नेपाल आएर छपकैयाँमा आएर बस्नु भएको रहेछ । मेरा बुबा महावीरप्रसाद यतै जन्मनु भयो । कपडाको व्यापार गर्न यता आएका हजुरबुबालाई बुबाले सघाउन लाग्नु भयो । हजुरबा घोडालाई सामान बोकाएर हटियाहरुमा व्यापार गर्न जानुहुन्थ्यो । पछि वीरगञ्जमा बजार विस्तार हुन लागेपछि हाम्रो परिवार स्थायी थातबासको व्यवस्थासहित यता सर्यो ।
क्रमशः वीरगञ्जको बजार विस्तार हुँदै गयो, म पनि ठूलो भएँ । व्यापारको नयाँ क्षेत्रमा काम गर्न थालियो । नेशनल टे«डिङको एजेन्सी लिइयो । एकपछि अर्को, तेल, दाल, चामल मिल खोल्यौं । लेदर र सिमेन्ट उद्योग खोल्यौं । वीरगञ्जको विस्तारसँगै हजुरबाले घोडालाई बोकाएर डुलिडुली गर्ने हाम्रो व्यवसायले पनि कर्पोरेट उचाइ लियो ।
एक आनामा पेटभरि खाना
त्यसबखत वीरगञ्जमा हलुवाईको पसल थियो । पुरी, जलेवी, सब्जी यस्तै यस्तै पाइन्थ्यो । त्रिजुद्ध स्कुलसामु एउटा पुष्टकारीको पसल थियो । त्यहाँ सँधैं विद्यार्थीको भीड लाग्थ्यो । अनि सख्खर र भुजा पाइन्थ्यो । एक, दुई आनामा साथीहरू मिलेर त्यस्ता पकवान पेटभरि खान पाइने । पैसाको मूल्य निकै महँगो हुने त्यस समय दुई, चार आना गोजीमा हुन पनि मुस्किल पर्थ्यो । यसो हेर्छु, अचेलका केटाकेटीको खानेकुराको छनोट कति हुन् कति । अनेक स्वाद र ब्राण्डका चकलेट खाएर पनि ती बेखुस । हामी भने एक पैसाको भुजा र सख्खरको डल्लो पाएपछि खुसीले उफ्रिदै हिड्थ्यौं ।
सिर्सियाको सङ्लो याद
उमेरको हिसाबले डाँडामाथिको घाम भएँ हुँला, तर ऊर्जाका हिसाबले आज पनि उस्तै सक्रिय छु । व्यावसायिक कामका सिलसिलामा सुख्खा बन्दरगाह पुगिरहन्छु । त्यहाँ पुग्नु भनेको सिर्सिया नदी पुग्नु हो । सिर्सिया नदी नजिक पुग्दा कहिलेकाहीँ एकप्रकारको भावुकताले छुन्छ ।
त्यो मेरो, मेरा समवय साथीहरूको बाल्यकालको स्मृति बोकेर बग्ने नदी । त्यो कञ्चन जलधरा अचेल फोहोरको लेदो बोकेर बग्नै बिर्सिएझैं देखिन्छ । बाल्यकालमा हामी मौका पाएसम्म दौडिँदै नदीमा पुग्थ्यौं र डुबुल्की मार्थ्यौं । नथाकुञ्जेल पौडिन्थ्यौं । नुहाउने बहानाले अलौंतिरको ठूलो नदी तिलाबेमा पनि पुगिरहन्थ्यौं । नुहाएर विन्दबासिनीको दर्शन गर्ने, एकाध आनाको दही चिउरा खाएर फर्कंन्थ्यौं । यो अढाइ–तीन घण्टाको यात्राले हामीलाई गज्जबको ऊर्जा दिन्थ्यो ।
बजारमै पर्ने घडीअर्वा पोखरीमा पनि साथीहरू पौडी खेल्थे, मैले भने खेलिनँ । प्रकृतिको जीवन्त सुवास आउने त्यो पोखरी आज आधुनिक सजावटले झिलिमिली बनेको छ । छठिया माइको पूजाका बेला त यो दुलहीजस्तो सिंगारिएको हुन्छ । प्रकृतिका यी अनुपम छटाहरु बोध गर्दै सँगै डुलिहिँड्ने मेरा बाल्यकालीन साथीहरू सत्यनारायण, हीरा केडिया, शंकर केडिया, विश्वेश्वरलाल खण्डेलवाल, मदन शर्मा, आत्मराम कावराहरू व्यावसायिक क्षेत्रमै छन् । केही साथी बितेर गए ।
आर्दशनगर अर्थात् शौचखाना
हालको वीरगञ्जको मध्यबजार आदर्शनगर पुरानोकालमा शौचखाना थियो । यो इतिहास मेरो नाति पुस्ताको लागि दन्त्यकथा नै होला । त्यसबखत खेतैखेत भएको यस क्षेत्रमा वरिपरिका धेरै मानिस झिसमिसे लोटा बोकेर शौच गर्न पुग्थे । विकासको मेसो बुझेका स्थानीय पशुपति घोषले खेतमा बस्ती बसाउने विचार गरे । ०१०–११ सालतिर हुनुपर्छ, उनी आदर्शनगर बसाउने अनुमतिका लागि राजा महेन्द्रसँग बिन्ती बिसाउन राजधानी पुगे । राजाबाट अनुमति र सरकारबाट ९ लाख रूपैयाँ निर्व्याजी ऋण लिएर वीरगञ्ज पुगे ।
घोषले जग्गा प्लटिङ गरे, सडक बनाए । एक कठ्ठा जग्गाको आठ हजार रूपैयाँ मूल्य निर्धारण गरे । त्यसमा पनि पाँच सय रूपैयाँ दिएर बैना गर्न सकिन्थ्यो । तर धेरैले भने, ‘यस्तो शौच खानामा कसरी वस्ती बसाउने ?’ झण्डै तीन वर्षमा बल्लतल्ल बेचेर सरकारको ऋण चुक्ता गरे । सुरुमा पशुपति आर्दशनगर नामाकरण गरिएको त्यस क्षेत्रमा अहिले पनि घोषको शालिक राखिएको छ ।
थारू, मधेशी, पहाडिया, मारवाडी समुदायको मिश्रित बसोबास भएको यो बजार आज विस्तारित महानगर बन्यो । मेरा बालसखाहरुले पनि मै जसरी ती दिनलाई सम्झदा हुन् कि बिर्सिंदै गए होला ? नयाँ पुस्ताले सेल्फी खिचिरहेको यो आधुनिक महानगरमा बसेर म भने घरी सिर्सियाको कञ्चन बहावको यादमा डुब्छु, घरी घडिअर्वाको हराएको आदिम सौन्दर्य खोज्छु । घरैघरले ढाकेको शहरमा कहाँ–कहाँ परे होलान् ती बडेमानका पेडका डोबहरू ? अचेल म ती डोबसँगै बाल्यकालीन वीरगञ्जको श्यामश्वेत अनुहार खोजिरहेछु ।
- शकुन्तला जोशीले नेपालवाच विशेषमा लेखनुभएको छ ।