वीरगञ्ज ४ भदौ । जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते को हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन-ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन: परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए।
“तर कुनै विषयमा ३५% भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन-ग्रेडिङ हुन्छ। नन-ग्रेडिङ पाएका विद्यार्थीले पुन: बोर्ड परीक्षा दिनुपर्नेछ,” शर्माले भने।
यसअघिका १२ कक्षा परीक्षामा ‘कट-अफ’ विन्दु थिएन। तर यसपालिदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको अधिकारीहरूले बताएका छन्।
“डी भन्दा मुनि एनजी वा नन-ग्रेडेड अङ्क दिइन्छ। नन-ग्रेडेड विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँदैनन्,” उनले भने।
अङ्क वर्गीकरण
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ती परीक्षार्थीमध्ये दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका निम्ति मौका परीक्षा यही वर्ष दिन पाइनेछ।
“परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ। मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटामात्र विषयमा जाँच दिन पाइन्छ। त्योबेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ,” उनले भने । बीबीसी