इरानमा दुई महिलामाथि दही छ्यापिएको र उनीहरुलाई पक्राउ गरिएको छ। महिलाहरुले कपाल नढाकेका कारण उनीहरु पक्राउ परेको अनुमान गरिएको छ ।
यस घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आउँछन् । केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा छ्याप्छन् ।
इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल नछोपेको आरोपमा हिरासतमा लिइएको बताएको छ । टाउको वा कपाल नढाक्नु इरानमा गैरकानूनी मानिन्छ ।
त्यसैगरी सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् । उक्त गिरफ्तारी इरानमा हिजाब विरुद्ध महिनौंदेखि भएको प्रदर्शनपछि भएको हो।
इरानको न्यायपालिकाले यस मामिलामा पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ । इरानमा महिलाले हिजाब नलगाई बाहिर निस्कनु गैरकानुनी मानिन्छ । तर, कतिपय ठूला सहरहरूमा यो नियमबाबजुद पनि महिलाहरू हिजाब नलगाई घुमिरहेको देख्न सकिन्छ ।
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठूलो प्रदर्शन भएको थियो। म्हसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको छ ।
हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो ।