×

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको बस्तु प्रहार गरिएको जस्तो देखिन्छ ।

घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई थिचिरहेको तस्बिरहरू बाहिर आएका छन् ।

जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो ।

 किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो । अघिल्लो वर्ष जापानी प्रधानमन्त्री सीञ्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।

त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए । उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो ।

देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो । अहिलेसम्म यसको पूर्ण जानकारी आइसकेको छैन् । टेलिभिजन फुटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ ।

एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो ।

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ ।

Back to top