फाइल तस्विर ।
वैशाख १० गते हुने उपनिर्वाचनमा अब जम्मा ३ दिन बाँकी छ । निर्वाचन नजिकै आइसक्दा बारा निर्वाचन क्षेत्र नम्बर २ तर्फ देशको ध्यान केन्द्रित भएको छ । कारण हो यहाँ प्रतिस्पर्धामा उत्रेका उम्मेदवार । यस क्षेत्रबाट राष्ट्रिय स्तरका नेताहरु विच भइरहेको वर्चस्वको लडाईका कारण पनि सबैको ध्यान यहाँ तिर केन्द्रित भएको हो । यहाँ पाँच दलीय गठबन्धनको समर्थनसहित जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का रमेश खरेल र आम जनता पार्टीका अरुणकुमार ज्ञवाली विच प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धीमध्ये हामीले केहीसँग कुराकानी गरेर यहाँहरुको समक्ष प्रस्तुत गर्ने प्रयास गरेका छौँ । सोही प्रयास स्वरूप जसपाका उम्मेदवार उपेन्द्र यादवसँग गरिएको कुराकानीको सपादित अंश:
चुनावी प्रचारका क्रममा जनताको घरदैलोमा पुगि रहँदा माहौल कस्तो पाउनुभएको छ ?
जनतामा अत्यन्त उत्साह र उमंग रहेको पाएको छु । जनताले मधेशको हकअधिकार र पहिचान दिलाउनेलाई राम्ररी चिनेका छन् । त्यसका कारण चुनावी घरदैलोमा जनता आफै मेरो लागि मत माग्दै हिडेका पनि छन् । यसले मेरो जित सहज छ भन्ने आत्मविश्वास बढाउँदै लगेको छ ।
बारा २ मा चुनावी प्रचारप्रसार सुरु नहुँदै जातीवादको नारा उचालिएको थियो, अहिले अवस्था के छ ?
चुनावी माहोल सुरु भएलगत्तै बारा निर्वाचन क्षेत्र नम्बर २ मा जातिवादको जहर घोल्ने, एउटा जातलाई अर्को जातिविरुद्ध लडाएर आफ्नो दुनो सोझाउने षडयन्त्र गरिरहेका थिए । जाली झेलीहरुले भ्रम फैलाइरहेका थिए, तर अहिले जातीवादको त्यो नारा हराउँदै गएको छ ।
बारा २ का जनतामाझ मत माग्ना जाँदा तपाईका मूख्य एजेन्डाहरु के के हुन् ?
संघीयता र समावेशीताको रक्षासँगै सुशासन, विकास र समृद्धि नै हाम्रा मूख्य एजेन्डा हुन् । यीनै एजेन्डाहरु लिएर म जनताको माझमा पुगिरहेको छु, जसका कारण जनता निक्कै उत्साहित पनि देखिएका छन् ।
बारा २ मा तपाईँ त बाहिरिया उम्मेदवार हो भन्ने आरोप छ त ?
सुरु सुरुमा विपक्षीहरुले यो हावादारी कुरा गरेका थिए । तर अब त्यो हावादारी कुरा हावामै हराएको छ । के म यो देशको नागरिक नै होइन? के म मधेशी होइन ? मधेशमा मधेशको मान्छे पनि कहि बाहिरिया हुन्छ ? कस्तो बुद्धि नभएका विपक्षीहरु परेका छन् । बारा २ का जनताले मलाई आत्मसात गरिसकेका छन् । मलाई त विपक्षीहरुको बुद्धी देखेर दया पो लाग्दैछ । आफ्नै देशका नागरिकलाई बाहिरिया भन्नेहरुले के राजनीति गर्नु ? के देश र जनता बुझ्नु ?
एकदुई दिन यता विपक्षीहरुले तपाईँमाथि अर्को आरोप पनि लगाइरहेका छन् कि हार्ने डरले उपेन्द्र यादवले आफ्ना पार्टीका मुख्यमन्त्री, मन्त्री, सांसद्लगायत देशभरका सम्पूर्ण शक्ति बारा २ मा उतारेका छन् ?
त्यो मनगणन्ते कुरा हो । त्यस्ता मनगणन्ते, उडन्ते कुराहरु कुनै तुक छैन । मिडिया र सोसल मिडियामा जसलाई जे मन लाग्यो त्यहि लेख्ने र लेख्न लगाइरहेका छन् । बारा २ का जनता र पाँच दलका नेता कार्यकर्ता मेरो साथमा छन् । त्यसका कारण त्यस्ता मनगणन्ते कुराले मलाई कुनै फरक पर्दैन ।
केहि मिडियामा अहिले बारा २ को निर्वाचनको नतीजाको पूर्वानुमान गरेर सर्वेक्षणका रिपोर्टहरु आएका छन् । त्यसमा तपाईँ जनमत पार्टीका उम्मेदवारसँग पछाडि देखिनु भएको छ । ती सर्वेक्षणको रिपोर्टबाट तपाईँ सहमत हुनुहुन्छ त ?
त्यो प्रायोजित र हावादारी हो, त्यो बिल्कुल गलत छ । त्यो पनि विपक्षीहरुको भ्रामक प्रचारबाजी मात्रै हो । जातिवादको नारा फैलाए जस्तै त्यो सर्वेक्षण पनि विपक्षीहरुको इशारामा ल्याइएको हो । त्यसकारण म र बारा २ का जनता त्यसबाट भ्रमीत छैनौं ।