वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिकामा रहेका सामुदायिक विद्यालयहरु आवश्यक सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पर्साले गाँउपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
नेविसङ्घ पर्साका सभापति रमेश यादवले बिहीबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महत्तो थारुलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र मार्फत नेविसङ्घले पटेर्वासुगौली गाँउपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा पङ्खा, खानेपानी, आवश्यक डेस्क बेञ्चको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी प्रत्येक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाउन, विद्यार्थीको संख्या अनुपातमा शिक्षकको व्यवस्था गर्न र प्रविधीमैत्री शिक्षाको पनि व्यवस्था गर्न नेविसङ्घको माग छ ।
ज्ञापनपत्र बुझदै गाँउपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष थारुले नेविसङ्घले गरेका मागहरु जाय भएको भन्दै सम्बोधनका लागि आफूहरु सकरात्मक रहेको प्रतिक्रिया दिएका थिए ।