वीरगञ्ज । पर्सा जिल्लाका अधिकांस स्थानीय तहले भोली शुक्रबारसम्म गर्मी विदा घोषणा गरेका छन् । मौसम विभागले तातो हावा "लू" चल्दा जनजीवन कष्टकर बन्ने बताएपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तहहरुले विद्यालयमा गर्मी विदा घोषणा गरेका हुन् ।
विभागकाले अझै चारदेखि पाँच दिनसम्म लू चल्ने क्रम जारी रहने बताएपछि विदा थप गर्ने माग भइरहेको बेला जिल्लाको ग्रामिण भेगमा पर्ने निजी विद्यालयले भने स्थानीय तहहरुले गरेको निर्णयको अवज्ञा गरेको पाइएको छ ।
जिल्लामा रहेका १४ वटा स्थानीय तहमध्ये ग्रामिण भेगमा पर्ने सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, पोखरिया लगायत केही स्थानमा रहेका निजी विद्यालयले गर्मी विदा नदिएको पाइएको हो ।
ग्रामिण बेगका विद्यालयले विद्यार्थीलाई आउट ड्रेस (घरायसी लुगा) लगाएर विद्यालय बोलाउने गरेको पाइएको छ । गर्मीका कारण घरबाट बाहिर ननिस्किन मौसम विभागले आग्रह गरिरहेको बेला विद्यालयले स्थानीय तहको निर्देशनलाई अवज्ञा गर्दै विद्यार्थीको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ।
स्थानीयहरुका अनुसार अहिले ग्रामिण भेगमा विद्यार्थीलाई दिउँसो टन्टलापुर घाम ब्याग, खाने टिफिन र पानीको बोत्तल लिएर विद्याल गएको र पढेर फर्किएको देख्न सकिन्छ । निजी विद्यालयले स्कूल सञ्चालन गरेको स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत शिक्षा शाखाका प्रतिनिधिहरुलाई समेत गुनासो गर्दा कुनै सुनुवाइ नभएको अभिभावकहरुको गुनासो छ ।
विद्यार्थीको स्वास्थ्यमा गर्मीका कारण कुनै असर परे त्यसको जिम्मा विध्य्लय स्वयम् र स्थानीय तहले लिनुपर्ने एक अभिभावक रञ्जित यादवले बताए ।