रौतहट । रौतहटस्थित गौर नगरपालिकामा पहिलो पटक गौरी शङ्कर यादव प्रिमियर लिग (जिपीएल) हुने भएको छ । पुस १७ गतेदेखि सुरु हुने प्रतियोगितामा गौरका ९ टिमले सहभागिता जनाउने भएका छन् ।
गौरीशङ्कर यादव प्रतिष्ठानले शनिवार गौरको साइमन होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरेको छ । नगर क्षेत्रमा रहेका क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवम् गुणस्तरीय खेलाडी उत्पादनको लागी जीपीएलको सुरुवात गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।
सम्मेलनमा प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सी समेत सार्वजनिक गरिएको छ । जिपिएलमा सहभागी टिमहरू क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागिता रहेको आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जीपीएलमा सहभागी हुने प्रत्येक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराइने श्रेष्ठले बताए ।
प्रतियोगितामा क्रिकेट एसोसिएसन अफ नेपालबाट मान्यता प्राप्त अम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले जानकारी दिए । प्रतियोगिता अवधिभरिमा खेलाडीहरू अनुशासित रहन आग्रह गर्दै खेल भावना विरुद्ध कार्य गरेको पाइएका सम्पूर्ण म्याच फि काटिने स्पष्ट श्रेष्ठले चेतावनी पनि दिए ।
प्रतियोगिताका प्रत्येक प्लेयर अफ दि म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाँ पुरस्कारको समेत व्यवस्थापन गरिएको छ । क्यानको नीयमकानुनलाई अङ्गीकार गर्दै गौरीशङ्कर यादव प्रिमियर लिग (जीपीएल) सञ्चालनका लागि आवश्यक सबै तयारीहरू अन्तिम चरणमा पुगेको फाउन्डेसनका अध्यक्ष मोहन यादवले बताए । गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरू समावेश भएको र ११ दिन सम्म चल्ने जीपीएलअन्तर्गत १९ वटा खेल हुने यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रौतहट क्रिकेट सङ्घका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित सञ्चारकर्मीहरू तथा टिमका क्याप्टेनहरूको सहभागिता रहेको थियो ।