वीरगञ्ज । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् । तर हराइरहेका बस अझै फेला परेका छैनन् ।
भेटिएका शवमध्ये सात वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । उनका अनुसार सनाखत भएका सात शवमा तीन वटा भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।
हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमवार पनि जारी रहेको उनले जानकारी दिए ।
कति यात्रु थिए
काठमाडौँबाट गौर तर्फ आउँदै गरेको र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेका दुई बस शुक्रवार सबेरै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । दुवै बस फेला पर्न सकेका छैनन् । ती बसमा कम्तीमा ६५ जना चढेको बताइएको छ ।
यसअघि अधिकारीहरूले कम्तीमा ५१ जना यात्रु रहेको बताएका थिए । सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर आउँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।
यात्रुका आफन्तहरूले दिएको पछिल्लो जानकारीअनुसार बसमा चढेका मानिसको सङ्ख्या बढी रहेको देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
केही शव नदीमा बगेर भारतीय भूमिमा
अधिकारीहरूले केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का व्यक्त गरेका छन् । सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए ।
अँध्यारो भएपछि खोजी कार्य गर्न नसकिने भन्दै शुक्रवार साँझ रोकिएको अभियान शनिवार बिहान सुरु भएको थियो । शनिवार सुरक्षाकर्मीहरूले तीन जनाको शव फेला पारे। आइतबार खोजीको क्रममा थप तीन शव फेला परे ।
सोमवार बिहानसम्म कुल ११ वटा शव फेला परेका छन् । तीमध्ये दुइटा शव नेपाली सीमा पार गरेर गण्डक नहरको भारततर्फको क्षेत्रमा पुगेको पाइएको अधिकारीहरूले जानकारी दिए ।
हाल फेला परिरहेका शवहरू दुर्घटना स्थलभन्दा निकै तल पर्ने क्षेत्रहरूमा पनि पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलभन्दा ५० किलोमिटर तल खोजी
स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सोमवार बिहानैदेखि खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । त्यस्तै विभिन्न उपकरणसहित गोताखोरहरूले पनि खोजीलाई जारी राखेका छन् ।
सोमवार घटनास्थलभन्दा ५० किलोमिटरभन्दा तल्लो भेगमा सुरक्षाकर्मीहरूलाई विभिन्न समूहमा खटाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
खोजीका लागि र्याफ्टिङ बोट, दूरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएको जनाइएको छ । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको अधिकारीहरूले बताएका छन् ।