सिरहा। सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको खुलासा भएको छ। असोज २७ गते दुर्गा पूजाको मेला हेर्न गएका पाँचजनाले महराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
महराको शव सुखिपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा कम्मरमाथिको भाग बालुवाले छोपिएको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार मृतक महरासँगै गएका पाँचजनाले लागुऔषध सेवनपछि रिसको झोंकमा हत्या गरेको बताइएको छ।
प्रहरीले हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरजकुमार राम र २० वर्षीय मोहम्मद जमसेदलाई पक्राउ गरेको छ। उनीहरूलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको राति कृष्ण र उनका साथीहरू दुर्गा पूजाको मेला हेर्न गएका थिए। प्रहरीका अनुसार, सबैले मेला स्थल नजिकैको खोलामा पुगेर गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए। सो क्रममा कृष्णले आफूले चिनेकी एक महिलालाई भेट्ने योजना सुनाएपछि साथीहरूबीच विवाद भएको थियो। विवादकै क्रममा रिस उठेका साथीहरूले धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।
हत्या पश्चात्, अपराध लुकाउनका लागि उनीहरूले कृष्णको शव गागन खोलाको किनारमा खाल्डो खनी बालुवाले ढाकेर भागेका थिए। असोज २८ गते शव फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धानमार्फत आफ्नै साथीहरूले हत्या गरेको पुष्टि गरेको हो।
प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरिसकेको र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।