रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिका-३ का २६ वर्षीय कमोद राम चमार र ४४ वर्षीय नेमालाल साह बानिया रहेका छन्।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार शुक्रवार साँझ गुजरा नगरपालिका-३ स्थित धन्सार गेट नजिकै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो, र सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट खटिएको संयुक्त टोलीले ज४ प नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चमार र बानियाको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।