रौतहट । कटहरिया: कटहरिया नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले तलबको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्।
नगरपालिकामा हालै पुनः कार्यभार सम्हालेका मेयर अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि उनीहरूले तलब पाउन नसकेको भन्दै असन्तोष व्यक्त गरेका छन्। स्वयंसेविकाहरूले दसैं तलब नपाएका मात्र होइन, आगामी दीपावली र छठजस्ता पर्व नजिक आउँदा पनि हालसम्म कुनै संकेत नदेखिएको गुनासो गरेका छन्।
कटहरियाका ९ वटै वडामा गरी ५४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सक्रिय रूपमा कार्यरत छन्। उनीहरूले १८ महिनादेखि तलब पाउन नसकेको बताउँदै, अब आन्दोलनको विकल्प नभएको बताएका छन्।
यसअघि, पूर्व मेयर सियाराम कुशवाहाले प्रत्येक चौमासिकमा मासिक ३ हजार रूपैयाँका दरले तलब भुक्तानी गर्ने प्रचलन थालनी गरेका थिए। जैसवाल मेयर बनेपछि उक्त तलबमा १५ सयको वृद्धि गरी ४ हजार ५ सय बनाइएको थियो। तर, ६ महिनासम्मको तलब मात्रै उनीहरूले पाउन सकेको र त्यसपछि निरन्तर झुटा आश्वासन पाइरहेको बताइएको छ।
वडा नम्बर ८ मा कार्यरत स्वयंसेविका मिना ठाकुरका अनुसार, आन्दोलनपछि असोजमा मेयर जैसवालले दसैं अघि नै तलब दिने प्रतिबद्धता जनाएका थिए। उनको आश्वासनपछि आन्दोलन स्थगित गरियो तर हालसम्म खातामा तलब नपुगेको मिना ठाकुरले बताइन्।
यो सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीसँग सम्पर्क हुन सकेन।