रौतहट। चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित श्री आधारभूत विद्यालय राजपैडामा भवन निर्माणको रकममा अनियमितता भएको रहस्योद्घाटन भएको छ। विद्यालयका प्रधानाध्यापक किसोरी चौधरीले किर्ते हस्ताक्षर र छाप प्रयोग गरी विद्यालय भवन निर्माणको लागि छुट्याइएको रकम अनियमितता गरेको आरोप लागेको छ।
चन्द्रपुर नगरपालिकाले राष्ट्रिय योजना आयोगको विशेष अनुदानको ५३ लाख ९८ हजार २ सय ८९ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा विद्यालयको खातामा जम्मा गरिदिएको थियो। यो रकममध्ये प्रधानाध्यापक चौधरीले किर्ते दस्तखत र नक्कली छापको प्रयोग गरी २३ लाख ८ हजार ४ सय ७३ रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ।
नगरपालिकाले २०८० असार २० गते ब्रम्ह्बाबा कन्स्ट्रक्सनसँग चार कोठे भवन निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कार्य सम्पन्न भइसकेपछि रकम भुक्तानी नगरि प्रधानाध्यापक चौधरीले बारम्बार रकम झिकेर निजी प्रयोजनमा खर्च गरेको भेटिएको छ। साथै, भवन निर्माणको क्रममा निर्माण व्यवसायीलाई भुक्तानी गर्दा कट्टी गरिएको मूल्य अभिवृद्धि करको ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा जम्मा गर्नु पर्नेमा, उक्त रकम पनि निजी प्रयोगमा लगेको पाइयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले किर्ते कागजातको आधारमा रकम हिनामिना गर्ने प्रधानाध्यापक चौधरीविरुद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए।