वीरगञ्ज । नेपाली संस्कृतिमा विशेष स्थान पाएको तिहारको दोस्रो दिनलाई कुकुर तिहारका रूपमा मनाइन्छ। यस दिन नेपालीका घर आँगनमा कुकुरलाई टीका लगाएर, फूलको माला पहिराएर र मीठा परिकारहरू खुवाएर पूजा गरिन्छ। परम्परागत मान्यताअनुसार, आजको दिन कुकुरलाई पूजा नगरी भोजन गर्नाले पाप लाग्छ भन्ने विश्वास छ।
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। हिन्दू धार्मिक मान्यताअनुसार, कुकुरलाई यमराजको दूत मानिन्छ, जसले स्वर्ग र नरकको बाटो पहिल्याउन सहयोग गर्छ। साथै, कुकुरलाई भैरवको बहानको रूपमा पनि पूजिन्छ।
कुकुर निष्ठावान, आज्ञाकारी र रक्षक प्राणीका रूपमा पनि परिचित छ। सुरक्षा, अपराधी पत्ता लगाउन सघाउने, तथा घरको सुरक्षामा मद्दत गर्ने घरपालुवा जनावरको रूपमा यसको योगदान उल्लेखनीय छ। प्राकृतिक विपत्ति वा दैवी प्रकोपका समय कुकुरले चेतावनी दिने मान्यता समेत रहेको छ, जसले गर्दा कुकुरलाई केवल घरपालुवा मात्र नभई समाजको अभिन्न साथीको रूपमा लिइन्छ।
यसरी कुकुर तिहार नेपाली समाजको कुकुरप्रतिको आदर र सम्मानको प्रतीक हो। कुकुर तिहारले यस घरपालुवा जनावरप्रतिको प्रेम र स्नेह झल्काउँछ।