×

रौतहट । रौतहटको टिकुलियास्थित पक्की पुल निर्माणको काम १४ वर्ष बितिसक्दा पनि अधुरो छ, जसका कारण सर्वसाधारणले अझै पनि वैकल्पिक कच्ची बाटो प्रयोग गर्न बाध्य भएका छन्। पुलको निर्माण नहुँदा गौर–इशनाथ नगरपालिकाको लालबकैया नदी पार गर्न यात्रुहरू इशनाथ नगरपालिकाले बनाएको अस्थायी डाइभर्शनबाट आवतजावत गरिरहेका छन्।

लालबकैया नदीमाथि गौर र इशनाथ नगरपालिका जोड्ने पुल निर्माणको काम लामो समयदेखि अवरुद्ध हुँदा नगरपालिकाले नदीमा ह्युम पाइप राखेर अस्थायी बाटो निर्माण गरेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताका अनुसार यो वैकल्पिक बाटोले सदरमुकाम गौरसम्म पुग्नुपर्ने २०–२२ किलोमिटरको घुमाउरो यात्रा टार्न मद्दत गरेको छ। उनले बताए, “अस्थायी बाटोले गौर आउजाउ गर्न सजिलो बनाएको छ, विशेषतः बन्जराहा, औरैया र मठियालगायत लालबकैया पारीका बासिन्दाका लागि।”

स्थानिय किसान जयन्ती मालाले समयमै पक्की पुल निर्माण नहुँदा वर्षायाममा सदरमुकाम पुग्न जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता भएको बताइन्। गौरका विभिन्न सेवाका लागि सदरमुकाम आउनुपर्ने बन्जराहा, औरैया र मठियालगायतका बासिन्दाहरूले लामो समयदेखि यो समस्याको सामना गर्दै आएका छन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते पुलको शिल्यान्यास गरे पनि पप्पु कन्स्ट्रक्सनले १४ करोड ९२ लाख २७ हजार रुपैयाँमा जिम्मा लिएको पुलको निर्माण एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। सम्झौता अवधि समाप्त भएपछि पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेको थियो। पछि २७ करोड रुपैयाँमा ठेक्का पाएको आजाद दिपु जेभीले भुक्तानीमा भएको ढिलाइका कारण पुल निर्माणको काम अघि बढाउन सकेको छैन।

डिभिजन सडक कार्यालय रौतहटका इन्जिनियर अशोक यादवका अनुसार, बजेट व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयमा फाइल पेश भए पनि कार्यान्वयन हुन बाँकी छ। यादवका अनुसार हालसम्म पुल निर्माणको करिब ५० प्रतिशत मात्र सम्पन्न भएको छ। समयमा पक्की पुल निर्माण नहुँदा २०७५ साल भदौ ९ गते सोही स्थानमा डुङ्गा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो।

यात्रुहरू पुल निर्माण यथाशिघ्र सम्पन्न होस् भन्ने आशामा छन्, ताकि लामो दूरीको वैकल्पिक यात्रा र जोखिमपूर्ण यात्रा गर्न नपरोस्।

Back to top