रौतहट । गढीमाई नगरपालिका-९ का वडाध्यक्ष हरिश्चन्द्र सहनीसहित चार जनाविरुद्ध जुत्ताको माला लगाएर सर्वसाधारणलाई अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, गढीमाई - ९ वडाध्यक्ष सहनी र अन्य तीन जनाले गरूडा नगरपालिका-३ मलाही बस्ने परीक्षण सहनी र माधवनारायण नगरपालिका-७ लौकाहाका राजु सहनीलाई जुत्ताको माला लगाई अपमानजनक र अमानवीय व्यवहार गरेको आरोप छ ।
प्रहरीका अनुसार, गत मङ्गलवार गरूडा बजारबाट घर जाँदै गरेका ती दुवैलाई चाँदीपुल नजिकै मोटरसाइकल रोकी गालीगलौज गर्दै कुटपिट गरिनुका साथै जुत्ताको माला लगाई बजारभरि घुमाइएको थियो ।
घटनामा संलग्न वडाध्यक्ष हरिश्चन्द्र सहनी हाल फरार रहेको र अन्य तीन अभियुक्त—सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
चारै जनाविरुद्ध अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरिएको रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले बताएका छन् । फरार वडाध्यक्षको खोजी कार्य तीव्र पारिएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।
सर्वसाधारणमाथि जुत्ताको माला लगाएर गरेको अमानवीय व्यवहारले स्थानीय स्तरमा चासो र आक्रोश बढाएको छ । पीडितहरूले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।