×

किसानले आफ्नो आवश्यकता परिपूर्ति गर्न तथा आय-आर्जनका निम्ति विभिन्न किसिमका बालीनाली लगाउने तथा पशुपक्षी पाल्ने गर्दछन् । यसै सिलसिलामा कहिलेकाहीं वातावरण प्रतिकूल हुँदा बालीनालीमा क्षति पुग्ने एवं नोक्सान हुन सक्दछ ।

पशुपंछीहरु अपाङ्ग हुने वा मर्ने गर्छन् जसबाट किसानलाई आर्थिक हानि हुन जान्छ । तसर्थ किसानलाई आर्थिक भारबाट बचाउन बाली तथा पशुपक्षी बीमा गर्नु एक उत्तम उपाय हुन सक्छ । नेपाल सरकारले बाली तथा पशुपंक्षी बीमाको व्यवस्था गरेर अकल्पनीय घटनाहरूका कारणले गर्दा बालीनालीमा हुन आउने क्षति कम गरी कृषकहरूलाई कृषि व्यवसायमा लागि रहन प्रोत्साहन गरेको छ ।

कृषि कर्म गर्दा हुन आउने जोखिम खेप्न नसकेर ठुलो स्तरमा कृषि व्यावसाय सञ्चालन गर्ने कृषकहरूलाई जोखिम कम गरेर व्यवसायी बन्न प्रेरित गर्दछ । नेपाल सरकारले लागू गरेको नियमानुसार कृषकहरूका तर्फबाट भुक्तानी गर्नुपर्ने बीमा रकमको प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले बेहोर्ने गरी व्यवस्था गरेको छ ।

बाली तथा पशुपंक्षी बीमाको फाइदाहरु धेरै छन जसमध्ये प्रमुख फाइदाहरू यस प्रकार छन्:-

१. किसानले आफ्नो बालीनाली तथा पशुपंक्षीको कुनै मौसमी, प्राकृतिक तथा अन्य कारणले नोक्सानी भएमा नियमानुसारको क्षतिपूर्ति प्राप्त गर्दछन् ।

२. कृषि बीमाले कृषि व्यावसायीकरण तथा यान्त्रिकीकरणमा जोड दिन पहल गर्छ ।

३. कृषि बीमाले पशुपंछी, माछा तथा फलफूल लगायत कृषिबालीको बजार व्यवस्थापनमा महत्तवपूर्ण भूमिका निर्वाह गर्छ ।

बाली तथा पशुपक्षी बीमा गर्ने प्रक्रिया वा विधिहरु यस प्रकार छन् :-

१.प्रस्ताव फाराम भने बाली तथा पशुपक्षी बीमा गर्दा मुख्यतया कृषकले कुन-कुन बाली तथा पशुपंक्षीको बीमा गर्न चाहेको छ सोही अनुसारको बीमा कम्पनीबाट उपलब्ध गराईएको प्रस्ताव फाराम भर्नु पर्दछ । फाराम भरि सकेपछि उक्त फारामलाई बीमा कम्पनी अथवा उक्त बीमा कम्पनीको बीमा अभिकर्तालाई बुझाउनु पर्ने हुन्छ ।

२. प्राविधकको प्रमाण-पत्र कृषकद्वारा पेश गरिएको प्रस्ताव फाराममा आवश्यकतानुसार कृषि तथा पशु प्राविधिकद्वारा मूल्यांकन गरिन्छ । उक्त मूल्यांकनका आधारमा बीमा गर्न चाहेको बाली तथा पशुपंक्षीको बीमा रकम तोकेर प्राविधिकले बीमा कम्पनीलाई बुझाउनु पर्दछ ।

३. बीमा लेख जारी गर्ने तत्पश्चात् प्राविधिकबाट प्रस्ताव गरिएको बीमा शुल्कका आधारमा बिमा रकमको बीमा लेखमा भएको व्यवस्था अनुसार बीमा शुल्कको ५० प्रतिशत रकम कृषकले बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्दछ ।

४. सुरक्षण हुने बालीहरूको क्षेत्रफल संरक्षण हुने बालीहरूको क्षेत्रफल फरक-फरक हुन्छ । लागतका आधारमा बालीहरूको बीमा गरिदैछ भने उक्त बालीको बीमा गर्नका लागि पहाडमा न्यूनतम आधा रोपनी जग्गा र तराईमा १ कट्टा जग्गामा खेती गरिएको हुनुपर्दछ । उत्पादनका आधारमा बीमा गरिने बालीहरूका सन्दर्भमा भने बाली बीमाको लेखमा उपलब्ध गराइए अनुसारको न्यूनतम क्षेत्रफललाई आधार मान्नु पर्नेछ ।

५. सुरक्षण हुने बाली तथा पशुपक्षीहरूको लागत

क) लागतका आधारमा गरिने बीमामा कुनै पनि बालीहरूको मन्त्रालयले तोकेको लागतलाई आधार मानेर स्थानीय सरकारको कृषि शाखाबाट तोकेको लागत अनुसार बीमा रकम निर्धारण गरिन्छ भने उत्पादनका आधारमा गरिने बालीहरूको बीमा रकम बीमा लेखमा तोकिए बमोजिमको हुन्छ ।

ख) पन्छीहरूका हकमा तिनले उपभोग गर्ने दाना खर्च र चल्लाको मूल्य बराबरको रकम बीमा रकम तोकिन्छ ।

ग) पशुहरूका हकमा पशुको उत्पादकत्व, जात, उमेर ( पशुसेवा विभागले उपलब्ध गराएको उमेर), स्वास्थ्य र पशु प्राविधिकको सल्लाह बमोजिम बीमा कम्पनी र बीमा गर्ने व्यक्तिको समन्वयमा बीमा रकम तय गरिन्छ । यसरी तोकिएको बीमा रकम स्थानीय स्तरमा उक्त पशुको किनबेच गर्दा आउने रकमभन्दा बढी निर्धारण गर्न मिल्दैन ।

घ) माछा पालनका लागि न्यूनतम २०० वर्ग मिटरको पोखरी र कम्तीमा तीन (३) फिट पानीको गहिराई भएको पोखरी हुनुपर्दछ तर ट्राउट माछाका हकमा प्राविधिकको सिफारिस अनुसारको संरचना भएको हुनु पर्नेछ ।

बाली तथा पशुपक्षी बीमा क्षतिको दाबी भुक्तानी व्यवस्था यस प्रकार छ :-

१. बीमा अवधि भित्र बालीको पूर्ण क्षति र पशुपंछीको मृत्यु भएमा बिमारकमको ९० प्रतिशत भुक्तानी उपलब्ध हुने ।

२. बालीको आंशिक क्षति र पशुपंछी घाइते वा अपाङ्ग भएमा ५० प्रतिशत वा कृषि प्राविधिक तथा बीमा लेखमा व्यवस्था भए अनुरूप दाबी भुक्तानी उपलब्ध हुने ।

३. बाली तथा पशुपंक्षी बीमा क्षतिको दाबी गरेको एक महिना भित्र भुक्तनी गरि सक्नु पर्ने । बीमा लेखले रक्षावरण गर्ने जोखिमहरू यस प्रकार छन् :- बाढी, डुबान, खडेरी, पहिरो/भूस्खलन, भूकम्प, आगलागी र चट्याङका कारणबाट धानबाली,तरकारी, फलफूल, आलु, पन्छी र माछा बीमा गरेको अवधि भित्र नोक्सान भएमा बीमा कम्पनीले बीमा रकमको ९० प्रतिशत रकम क्षतिपूर्तिका रूपमा कृषकलाई भुक्तानी गर्दछ ।

कृषि तथा पशुपक्षी बीमा गर्नका लागि आवश्यक कागजातहरू यस प्रकार छन् :-

१. सेवाग्राहीले भरेको बीमा फाराम।

२. सेवाग्राहीका दुई वटा पासपोर्ट साइजका फोटो ।

३. सेवाग्राहीको नागरिकताको सक्कल तथा नक्कल प्रति ।

४. सेवाग्राहीको व्यवसाय दर्ता भएमा प्यान नम्बर ।

५. सेवाग्राहीको लगानीको योजना तथा प्रक्रिया ।

कृषि तथा पशुपंछी बिमाको जलवायुमैत्री कृषिमा भूमिका यस प्रकार छ :- यसले कृषकको समानुकूलन हुने क्षमतामा सहयोग पुग्दछ । जलवायु परिवर्तनका असरले गर्दा किसानको बालीनाली तथा पशुपालनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव परि रहेको देख्न सकिन्छ । मौसम प्रतिकूल भई बालीनाली नष्ट हुनेदेखि लिएर पशुपंछी अपाङ्ग अथवा मर्ने सम्मको क्षतिपूर्ति बीमाका माध्यमबाट हुने भएकाले कृषि तथा पशुपक्षी बीमाको अभ्यास उचित देखिन्छ ।

Back to top