रौतहट। रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले लाखौँ मूल्य बराबरको अवैध सालको काठसहित एउटा पिकअप भ्यान बरामद गरेको छ। विशेष सूचनाको आधारमा भएको कारबाहीमा सशस्त्र वन गस्ती टोलीले बिहीबार महेन्द्र राजमार्गको धनसरबाट २ किलोमिटर पूर्व लचकामा काठ बोकेको ना २ च ९३१९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको हो।
गस्ती टोलीको नेतृत्व गरेका रेन्जर विकास लामिछानेका अनुसार पिकअपमा साढे ८५ क्युफिट सालको काठ लोड गरिएको थियो। पक्राउ परेका गाडी चालक जितेन्द्र चौधरीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहले जानकारी दिए।
डिभिजन वन कार्यालय रौतहटले बरामद काठको बजार मूल्य ३ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरेको छ। ९ थान सालको गोलिया काठसहितको पिकअप भ्यान र चालकलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ।
वन संरक्षणसम्बन्धी अवैध गतिविधिहरूलाई नियन्त्रण गर्न गस्ती टोलीले आगामी दिनमा पनि कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।