×

सर्लाही। नेपाललाई कृषि प्रधान देश मानिए पनि हाल यहाँको कृषि क्षेत्र गम्भीर समस्याको सामना गरिरहेको छ। किसानहरूले आवश्यक बीउ र मलको लागि भारतमाथि निर्भर रहनुपर्ने बाध्यताले कृषि क्षेत्रमा संकट निम्त्याएको छ।

सर्लाहीलगायतका जिल्लामा यतिबेला मकैको रोपाइँ र गहुँको विउ तयार गर्न किसानहरू व्यस्त छन्। तर, चाहिने उन्नत बीउ र रासायनिक मलको अभावले उनीहरू समस्यामा परेका छन्। भारतीय बजारबाट तस्करी गरी ल्याइएका बिउ र मलमा निर्भर रहनुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ।

बीउ अभाव र चर्को मूल्य

सर्लाहीलाई मकै उत्पादनका लागि उपयुक्त क्षेत्र मानिन्छ। तर, अहिले मकैको बीउको चरम अभावका कारण किसानहरूले रोपाइँमा ढिलाइ गर्नुपरेको छ। माग अनुसारको बीउ आपूर्ति गर्न नसक्दा किसानहरूले दोब्बर मूल्य तिर्न बाध्य छन्।

गत वर्ष ३,५०० देखि ४,००० रुपैयाँमा बिक्री भएको मकैको बिउ अहिले ६,००० देखि ७,००० रुपैयाँसम्म पुगेको छ। कतिपय किसानहरूले नक्कली बिउ किन्नुपरेको गुनासो गरेका छन्। चन्दन कृषि एग्रोभेटका सञ्चालक श्यामसुन्दर महतोका अनुसार, प्रमुख डिलरले मागअनुसारको बीउ उपलब्ध गराउन नसक्दा स्थानीय बजारमा अभाव देखिएको छ।

भारतबाट आयातित बिउमा निर्भरता

कृषि ज्ञान केन्द्र मलंगवाका कृषि अधिकृत रामबलम साहका अनुसार, नेपालका किसानहरूले भारतबाट आयात गरिएका मकैका बिउ शतप्रतिशत प्रयोग गर्ने गरेका छन्। भारतीय बाढी र प्राकृतिक प्रकोपका कारण बिउको उत्पादन कम भएपछि नेपालमा आयातमा समस्या आएको उनको भनाइ छ।

दीर्घकालीन समाधानको आवश्यकता

नेपालमा हाइब्रिड बिउको उत्पादनलाई प्राथमिकता नदिँदा किसानहरू वर्षेनी विदेशी बिउ र मलमा निर्भर छन्। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत नार्कले स्वदेशमै हाइब्रिड बिउ उत्पादनका लागि पहल गरे पनि पर्याप्त छैन।

कृषि अधिकृत साह भन्छन्, "बिउ अभाव समाधान गर्न स्वदेशमै सरकारी र निजी क्षेत्रको सहकार्यमा हाइब्रिड बिउ उत्पादनको व्यवस्था गर्न जरुरी छ।"

सरकारप्रति किसानको गुनासो

सरकारको असफल वितरण प्रणालीले किसानहरूलाई नक्कली बिउ र चर्को मूल्यमा निर्भर रहन बाध्य बनाएको छ। किसानहरूले आफ्नो समस्याको दीर्घकालीन समाधानको माग गर्दै कृषि क्षेत्रमा सुधारको पहलका लागि सरकारलाई दबाब दिएका छन्।

Back to top