×

फाईल फोटो

सर्लाही। सर्लाही जिल्लाका तीन पालिका प्रमुखहरूले चिनी उद्योग र उखु किसानबीच देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै, एउटै क्षेत्रभित्र अर्को उद्योगको खरिद केन्द्र (उखु काँटा) स्थापना नगर्न उद्योगपति र किसानलाई आग्रह गरेका छन्।

गौडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, र रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवद्वारा संयुक्त रूपमा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चिनी उद्योगका लागि कच्चा पदार्थको अभाव र किसानको भुक्तानी समस्यालाई गम्भीर रूपमा लिएर यस्तो अपिल गरिएको हो।

बिचौलियाको कारण समस्या थपिएको उल्लेख
ध्यानाकर्षण पत्रमा उखु खरिद प्रक्रियामा बिचौलियाको प्रभावले किसान र उद्योग दुवैलाई नोक्सान पुर्‍याएको जनाइएको छ। बिचौलियाले प्रति क्विन्टल उखुमा ४० रुपैयाँसम्म लोडिङ शुल्कको नाममा असुल गर्दै आएको र सरकारले दिने अनुदान रकम किसानसम्म नपुगेर बिचौलियाको खल्तीमा जाने अवस्थाले समस्या झन् बल्झिएको बताइएको छ।

गौडैता नगरपालिकाका मेयर देवेन्द्र यादवका अनुसार उद्योग र किसानको दीर्घकालीन हितका लागि उखु खरिद प्रणालीलाई स्वस्थ प्रतिस्पर्धात्मक बनाउन जरुरी छ। “एउटा उद्योगको क्षेत्रभित्र अर्को उद्योगले खरिद केन्द्र खडा गर्नुले किसानलाई अनावश्यक घाटा पुर्‍याउने र उद्योगलाई कच्चा पदार्थको अभावमा घाटामा धकेल्ने अवस्था सिर्जना हुन्छ,” मेयर यादवले भने।

उद्योग र किसानको हितमा पहल
तीनै पालिका प्रमुखले संयुक्त रूपमा जारी गरेको अपिलमा किसान र उद्योगको भविष्यलाई सुनिश्चित गर्ने खालका पहल गर्न आग्रह गरिएको छ। उद्योगको क्षमता अनुसारको उखु उपलब्ध नभएर चिनी मिल समयमा बन्द गर्नुपर्ने अवस्था आउनु, किसानले समयमै भुक्तानी नपाउनु, र उद्योग घाटामा जानु जस्ता समस्या समाधान गर्नका लागि सबै पक्षलाई गम्भीर बन्न भनिएको छ।

मेयर यादवले किसानलाई बिचौलियाको प्रभावबाट मुक्त गर्न र उद्योगलाई दिगो बनाउन ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “किसानको अनुदान रकमको २५ देखि ३० प्रतिशतसम्म बिचौलियाले हडप्दै आएको छ। यसले किसानलाई ऋणमा डुबाउने र उद्योगलाई घाटामा पुर्‍याउने समस्या थपेको छ। यसकारण हामीले यस प्रकारका अपिल जारी गरेका हौं,” उनले भने।

किसानलाई सचेत रहन अपिल
तीनै पालिका प्रमुखले किसानलाई आफ्नो अधिकारप्रति सचेत रहन र उद्योग र किसान दुवैको हितका लागि प्रयास गर्न आग्रह गरेका छन्। साथै, आफ्नो क्षेत्रभित्र स्थापित उद्योगलाई नै कच्चा पदार्थ उपलब्ध गराउन पहल गर्न अनुरोध गरिएको छ।

यस कदमले किसान र उद्योग दुवैको हितमा दीर्घकालीन प्रभाव पार्ने विश्वास तीन पालिका प्रमुखले व्यक्त गरेका छन्।

Back to top