रौतहट । वैदेशिक रोजगारमा हुने ठगी रोकथाम गर्न र यसको प्रभावकारी अनुगमनका लागि गरुडा नगरपालिका - १ जयनगरमा २५ सदस्यीय आइटी आर्मी कमिटी गठन गरिएको छ ।
अफ्रोज आलमको अध्यक्षतामा गठन भएको उक्त कमिटीको उद्देश्य वैदेशिक रोजगारसम्बन्धी समस्याहरू पहिचान गरी समाधान गर्ने हो ।
आइटी आर्मीको केन्द्रीय सचिव तथा पार्टी स्थायी कमिटी सदस्य रवीन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा केशव पासवान, अनिल यादव, मनोज राम, र कमल यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले वैदेशिक रोजगारीको नाममा हुने ठगीविरुद्ध सजग रहनु पर्नेमा जोड दिए । उनले आइटी आर्मीले प्रविधिको प्रयोग गरी ठगीका घटनाहरूको पहिचान र समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष आलमले कमिटीले स्थानीय स्तरमा वैदेशिक रोजगारसम्बन्धी जनचेतना फैलाउन र ठगीका घटना न्यूनीकरण गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथिहरूले पनि नवगठित कमिटीलाई सहयोग गर्न स्थानीय स्तरमा आवश्यक समर्थन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वैदेशिक रोजगारका चुनौती र समाधानका उपायबारे छलफल पनि गरिएको थियो ।