×

सर्लाही। वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्नको लागि डा. महावीर पुनले पुस्तक बिक्री अभियानलाई तीव्र बनाएका छन् । पाँच दिनदेखि सर्लाहीमा पुस्तक बिक्री गरिरहेका डा. पुनले आज मलंगवा नगरपालिका र हरिपुर नगरपालिकामा पुस्तक बिक्री गरेका छन् ।

मलंगवा नगरपालिकामा भएको कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि सुनिल कुशवाहा, पत्रकार पवन कुशवाहा र राधेश्याम कुशवाहालगायतले डा. पुनको जीवनगाथा समेटिएको पुस्तक खरिद गरेका छन् ।

डा. पुनले तीन लाख पुस्तक बिक्री गरेर कृषि औजार कारखाना सञ्चालन गर्न आवश्यक कोष जुटाउने लक्ष्य राखेका छन् । हालसम्म एक लाख ४० हजारभन्दा बढी पुस्तक बिक्री भइसकेको जानकारी उनले दिए । सर्लाहीमा मात्र तीन हजारभन्दा बढी पुस्तक बिक्री भएको छ भने आगामी १० दिनसम्म सर्लाहीका विभिन्न पालिकामा पुस्तक बिक्री गर्ने योजना रहेको उनले बताए ।

यस क्रममा लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, र मलंगवामा पुस्तक बिक्री भइसकेको छ । बाँकी पालिकामा निम्तो अनुसार पुस्तक बिक्री गरिने डा. पुनले जानकारी दिए ।

“कृषि औजार कारखाना तुरुन्त सञ्चालन गर्न अहिले पैसा आवश्यक परेकाले म हतोहात किताब बिक्री गर्दै छु,” उनले भने । यस कारखानाले नेपालका ग्रामीण किसानलाई स्वदेशमै उत्पादन भएका आधुनिक कृषि औजार उपलब्ध गराउने लक्ष्य राखेको छ । चीन र भारतबाट आयात भइरहेका कृषि औजारमध्ये कम्तीमा १० प्रतिशत स्वदेशमै उत्पादन गर्न सके ठूलो मात्रामा पुँजी देशभित्रै रोक्न सकिने डा. पुनको विश्वास छ ।

अभियानले ग्रामीण किसानलाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित देशभरका जनतालाई जोडिरहेको छ ।

Back to top