×

सर्लाही। सर्लाहीको बलरा नगरपालिकाको गडहिया डुमरियामा आयोजित देशकै पहिलो विज्ञान प्रदर्शनी मेला २०८१ भव्य रूपमा सम्पन्न भएको छ। दुई दिवसीय यस मेलाले यहाँका विद्यार्थीहरूलाई विज्ञान र प्रविधिप्रतिको रुचि बढाउन महत्वपूर्ण योगदान दिएको आयोजकहरूले बताएका छन्।

बलरा नगरपालिकाको आर्थिक लगानीमा आयोजित यो प्रदर्शनी बुधवार सम्पन्न भएको थियो। श्री जनता माध्यमिक विद्यालय, गडहिया डुमरियामा सम्पन्न मेलाले विद्यार्थीहरूलाई विज्ञान र नयाँ प्रविधिको क्षेत्रमा प्रोत्साहन दिने कोशेढुंगा सावित भएको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले बताएका छन्।

बाल प्रतिभा खोजी अभियान
"विज्ञान र नविनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता" भन्ने मूल नाराका साथ आयोजित यस प्रदर्शनी मेलाको उद्घाटन संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गरेकी थिइन्। मेलामा सर्लाहीका विभिन्न १४ स्थानीय तहका ३७ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिताका लागि ७४ र प्रदर्शनका लागि १०० भन्दा बढी परियोजना प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूले मार्च पास र सांस्कृतिक कार्यक्रममार्फत प्रमुख अतिथिहरूलाई स्वागत गरेका थिए भने नृत्य तथा सांस्कृतिक कार्यक्रमले मेलालाई थप आकर्षक बनाएको थियो।

महान वैज्ञानिक महावीर पुनद्वारा पुरस्कार वितरण
दोस्रो दिन आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको उपस्थितिमा प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।

विजेता विद्यालयहरू

माध्यमिक विद्यालयतर्फ:

  • प्रथम स्थान: लाली गुराँस इंग्लिस एकेडेमी, इश्वरपुर नपा ६
  • दोस्रो स्थान: जनता माध्यमिक विद्यालय, कौडेना गापा ३
  • तेस्रो स्थान: चक्र जनता सहिद गंगा माध्यमिक विद्यालय, बरहथवा ५
  • सान्त्वना: जनता मावी, गोडैता नपा ५ र रामसखी मोहित सिंह जनता मावी, बलरा ४

आधारभूत विद्यालयतर्फ:

  • प्रथम स्थान: जनज्योति नमूना मावि, लालबन्दी नपा १०
  • दोस्रो स्थान: महेन्द्र जनता मावि, वागमती नपा ११
  • तेस्रो स्थान: सगरमाथा आधारभूत आवासीय विद्यालय, मलंगवा १०
  • सान्त्वना: नवजनजागरण मावि, वागमती नपा ८ र श्रीमती कृष्णादेवी जनता मावि, मलंगवा ९

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले प्रदर्शनीमा सहभागिता जनाउने सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी, तथा शिक्षाप्रेमीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

यो मेला स्थानीय विद्यार्थीहरूको वैज्ञानिक सोच र प्रविधिमाथिको चासो अभिवृद्धिका लागि ऐतिहासिक माइलस्टोन बन्ने विश्वास गरिएको छ।

Back to top